भदौ ७, भक्तपुर । वि.सं २०७२ महाभुकम्पमा परी घर भत्किएर पुनःनिर्माणका क्रममा रहेका पिडितलाई सरकारले भक्तपुरबाट अनुदानको काठ उपलब्ध गराउन शुरु गरेसँगै पिडितलाई राहत भएको पूर्व उद्योगमन्त्रि तथा प्रतिनिधि सभाका सांसद महेश वस्नेतले वताएका छन् ।
डिभिजन वन कार्यालय भक्तपुरले बुधवार काठ वितरणस्थल भक्तपुर सूर्यविनायक नगरपालिका– ७ जगातेस्थित चाइनिज इँटा तथा टायल कारखानामा सञ्चालन गरेको काठ वितरण डिपोको उद्घाटनका क्रममा सांसद वस्नेतले बस्नेतले भूकम्प पीडित एवं लाभग्राही भक्तपुर नगरपालिका–५ का कृष्णमाया चिकंबन्जारलाई काठ प्रदान गर्दै काठ वितरणको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै सांसद वस्नेतले भक्तपुरका भूकम्पपीडितलाई काठ लिन अब ललितपुरको बालकुमारीमा धाउनु बाध्यताको अन्त्य भएको बताए । त्यस्तै सांसद वस्नेतले पशुपंक्षिलाई संरक्षण गर्नुपर्ने भन्दै सूर्यविनायकमा निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानलाई रु पाँच अर्बको लागतमा आगामी तीन वर्षमै सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताए । त्यस्तै यस वर्ष सरकारले रु ८३ करोड बजेट दिन लागेको जानकारी गराए । पर्यटकीय आकर्षणको केन्द्र निर्माण गर्ने र हाम्रा जंगली जनावरहरुको संरक्षण र सम्बद्र्धन गर्ने अभियानमा मन्त्रालयले अझ तीब्रता दिनुपर्ने वस्नेतले वताए ।
कार्यक्रममा डिभिजनल वन अधिकृत फणिन्द्र पोखरेलले बजारमा प्रति क्युफिट रु पाँच हजार ८०० पर्ने काठलाई सरकारले भूकम्प लाभग्राहीका लागि भने रु दुई हजार ७०० मा वितरण गरिरहेको बताए । काठ उत्पादन कम भएकाले विगतमा ५० क्युफिट काठ उपलब्ध भनिएता पनि अहिले २५ क्युफिट मात्रै काठ उपलब्ध गराएको बताए ।
भक्तपुरका ५३६ लाभग्राहीले ललितपुरको बालकुमारीबाट ३६ हजार क्युफिट काठ लिएको र काठ माग गर्दै आवेदन दिनेमध्ये बाँकी एक हजार ८१६ लाभग्राहीलाई भक्तपुरबाटै काठ वितरण गरिनेछ । भक्तपुरमा ६०५ क्युफिट काठ आएको जानकारी दिँदै पोखरेलले तत्काल एक लाख क्युफिट काठ माग भएको र सबै लाभग्राहीले काठ माग गरेमा दुई लाख ६० हजार क्युफिट काठ आवश्यक रहने अधिकृत पोखरेलले जानकारी गराए ।
भूकम्प पीडितहरुको निम्ति काठ उत्पादन तथा व्यवस्थापन निर्देशिका २०७२ को दफा ११ बमोजिम जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको भूकम्प पीडित लागि काठ विक्रीवितरण तथा व्यवस्थापन समिति मार्फत मार्फत सहुलियतपूर्ण काठ विक्री वितरण भइरहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख हिमाल कुमार श्रेष्ठ, शसस्त्र प्रहरी, प्रदेश सांसद राजेन्द्र मान श्रेष्ठ, नेपाली सेना, सूर्यविनायक नगरपालिका प्रमुख लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवलाको उल्लेख्य उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्