सम्पादकीय

छानबिन समितिले थाल्यो काम, प्रहरीको गोलीबाट १७ वर्षीय किशोरको मृत्यु



१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गर्दै शुक्रबार महेन्द्रनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक बालकको ज्यान गएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीका १७ वर्षीय सन्नु खुनाको मृत्यु भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चम्मनचोक क्षेत्रमा भएको झडपमा सन्नुलाई प्रहरीको गोली लागेको थियो । उपचारका लागि महाकाली अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भयो । आन्दोलनकारीले मृतकको शव नै बोकेर आन्दोलन थप चर्काए ।

स्टेचरमा राखेर प्रमुख जिल्ला अधिकारीको निवासतर्पm लैजाँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनकारीको मृत्यु भएको विषयमा प्रहरीले राति अबेरसम्म पनि मुख खोलेको छैन ।

शुक्रबारको आन्दोलनमा २५ आन्दोलनकारी घाइते भएका छन् । मनोज खड्का, युवराज भट्ट, चेतराज भट्ट, उमेश देउवा, दामोदर खाती, कवीन्द्र सिंह, सगुन सुवेदी, ईश्वर जोशी, वीरेन्द्र नागरी, किशोर जोशी, मनोज विष्ट, रमेश साउद, घनश्याम पन्त, पदमसिंह विष्ट, वीरबहादुर सिंह, हिमांशु भट्ट, प्रेम ठाकुर, जितेन्द्र श्रेष्ठ, रोरख रौले, मानसिंह रावत, सुरेश चटौत, सागर विष्ट, दिल विष्ट र नैन सिंहलगायत घाइते भएका छन् ।

छानबिन समितिले थाल्यो काम

गृह मन्त्रालयद्वारा घटनाको सत्यतथ्य छानबिन गर्न गठित सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वको उच्चस्तरीय टोलीले शुक्रबारदेखि कञ्चनपुरमा काम सुरु गरेको छ । समितिले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसँग छलफल गरेको छ ।

संयोजक मैनालीले सरकारले दिएको कार्यादेशअनुसार घटनाको छानबिन गर्ने बताए । समितिले सबैलाई संयमित हुन आह्वान गरेको छ । यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले कञ्चनपुर घटनाको छानबिन गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।