राजनीति

नेकपाको आकस्मिक निर्णय : अपराधीलाई कडा कारवाही गरिने



भदौ ९, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक सचिवालय बालुवाटारमा बसेको बैठकले अपराधीलाई कडा कारवाही गरिने निर्णय गरेको छ ।

कञ्चनपुरको घटनाबारे छलफल गर्न नेकपाको बैठक बसेको हो । बैठकले देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण तथा कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय भएको छ ।

बैठकमा नेकपाका दुबै अध्यक्ष एवं राजधानीमा उपलब्ध सचिवालय सदस्यहरु सहभागी भएको बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ ।

 सांसद लेखराज भट्टले  विज्ञप्ति जारी गर्दै निर्मला हत्या घटनामा गृहमन्त्रालयस्तरीय समितिले काम गर्न नसक्ने भन्दै त्यो भन्दा उच्च स्तरीय न्यायिक छानविन समिति गठन गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।

उनको विज्ञप्ति :

निर्मला हत्याकाण्डमा गृह मन्त्रालयसमक्ष बारम्बार उच्चस्तरीय न्यायीक छानबीन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि र गत विहीबारका दिन गृहमन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र उपप्रमुखको स्थानान्तरण गरे पनि घटना झनै बल्झिन पुगेको छ । तसर्थ, म मेरो व्यक्तिगत र म सम्बद्ध पार्टी कमिटिका तर्फबाट निर्मला हत्याका विषयमा उच्चस्तरीय स्वतन्त्र न्यायिक छानविन कमिटी अविलम्ब गठन गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष माग गर्न चाहन्छु ।’