भदौ १०, काठमाडौं । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ ।
रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । रक्षा बन्धन बाँध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । पौराणिक कथन अनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने प्रचलन छ । जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।
आजकै दिन शरीर शुद्ध गरी देवता, ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको हो । आज ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । जर्ने फेर्ने र डोरो बाँध्नेहरुको काठमाडौंका मन्दिर परिसरमा बिहानैदेखि घुइँचो छ ।
विगतमा रक्षा बन्धन अर्थात जनैपूर्णिमाको दिन देशभर सार्वजनिक विदा दिने गरिए पनि यस वर्ष भने विदा कटौती गरिएको छ । कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्