समाचार

३ वर्षमा भूकम्प प्रभावितका २ लाख ७० हजार घर बने : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण



भदौ १०, काठमाडौं । भूकम्प गएको ३ वर्षपछि २ लाख ७० हजार घर पुनर्निर्माण भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार ५ लाख ४१ हजार ७ सय घर बनिरहेको अवस्थामा छन् । भूकम्पपछि अति प्रभावित १४ जिल्लामा ७ लाख ७ हजार ४ सय ४३ र कम प्रभावित १८ जिल्लामा १ लाख ४३ भूकम्प प्रभावित परिवार अनुदान पाउने सूचीमा परेका थिए ।

यस्तै घर आंशिक क्षति भएर मर्मतका लागि १ लाख अनुदान पाउने सूचीमा अति प्रभावित १४ जिल्लामा ४६ हजार ९ सय २९, कम प्रभावित १८ जिल्लामा ५ हजार १ सय २५ परेका थिए । यीमध्ये अति प्रभावित १४ जिल्लामा ६ लाख २७ हजार २ सय २ र कम प्रभावित १८ जिल्लामा ९१ हजार ३ सय २२ परिवारसँग अनुदान सम्झौता भएको थियो ।

प्राधिकरणले कूल ९ लाख ९६ हजार ५ सय ८२ घर सर्वेक्षण गरेको थियो । जसमध्ये कूल ८ लाख ७ हजार ४ सय ८६ अनुदान सूचीमा परेका थिए । ३ किस्तामा अनुदान दिएको प्राधिकरणले पहिलो किस्ताबापत ७ लाख १४ हजार १ सय ९६ परिवारलाई वितरण गरेको छ ।

 
भूकम्पपछि १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ५ सय ४४ पुनर्निर्माण गर्ने र ६ सय ५३ मर्मत गर्ने लक्ष्य लिइएकोमा १ सय ४५ को पुनर्निर्माण भइरहेको छ । योमध्ये ५१ भवन बन्दै गरेका छन् भने ९४ भवन मर्मत भइरहेको छ । यस्तै ६ सय ४३ भवनमध्ये ३ सय ३१२  पुनर्निर्माण भएको छ भने ३ सय ३१ को मर्मत सम्भार भएको छ ।

यता शैक्षिक संस्था पुनर्निर्माणतर्फ ७ हजार ५ सय ५३ भवन निर्माण गर्ने लक्ष्य लिइएकोमा ३ हजार ८ सय १६ भवन निमार्ण सम्पन्न भएको छ भने २ हजार ३ सय ६९ भवन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

यस्तै सरकारी भवन पुनर्निर्माणतर्फ भूकम्पले असर पारेका ४ सय १५ भवनमध्ये १ सय ६२ पुनर्निर्माण र २ सय ५७ मर्मतसम्भार गर्ने लक्ष्य लिइएकोमा १ सय २६ भवन निर्माण भइरहेको र १९  भवन मर्मतसम्भार भइरहेको छ । यस्तै १६ वटा भवन बनाइएको छ भने २ सय ३२ भवन मर्मत सम्भार गरिएको छ ।

सांस्कृतिक सम्पदा पुनर्निर्माणतर्फ ७ सय ५३ वटा बनाउने लक्ष्य राखिएकोमा १ सय ८५ वटा सम्पन्न भएको छ भने ३ सय ९ सम्पदा निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

यता सुरक्षा निकायका भवनतर्फ ३ सय ८३ पुनर्निर्माण गर्ने लक्ष्य लिइएकोमा ९३ भवन मात्र बनेका छन् । १ सय १२ भवन बनाउने काम भने चलिरहेको छ । यस्तै खानेपानी पूर्वाधारतर्फ ३ हजार २ सय १२ भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिइएकोमा ७ सय ९१ संरचना निर्माण सम्पन्न भएको छ भने ६ सय ७० बन्दै गरेको प्राधिकरणको आँकडा छ ।