Banner News

नेपाल र भारतबीच भएका समझदारी कार्यान्वयन : दुवै पक्षबाट सन्तुष्टि व्यक्त



भदौ १६, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच पछिल्लो समयमा भएका वार्ताका क्रममा भएका वार्तामा भएका समझदारी क्रमशः कार्यान्वयन भइरहेकामा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको समापनपछि शुक्रबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्तामा सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गरेका छन् ।

समझदारी अनुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिकरुपमा छलफल भइरहेको बताउँदै आन्तरिक जलमार्ग, रक्सोल–काठमाडौँ रेलमार्ग, जोगवनी विराटनगर रेलमार्ग, जयनगर–बर्दिवास रेलमार्ग तथा टनकपुरको सडकका सम्बन्धमा भइरहेको कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् ।

वार्ताका क्रममा आउँदो पाँच वर्षका लागि नेपाललाई आवश्यक पर्ने मलखाद उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो । नेपाली कृषकले अदुवा निर्यातका सम्बन्धमा भोगिरहनु परेको समस्या अन्त्य, नेपालमा कृषिको आधुनिकीकरणका विषयमा सहयोगको आदानप्रदान गरिने विषयमा छलफल भएको बताइएको छ ।

त्यस अवसरमा रक्सौल–काठमाडौँ ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेका विषयमा दुई देशबीच हस्ताक्षर भएको समझदारीपत्रको आदानप्रदान भएको थियो । विगतमा भएका समझदारी नेपालको आउँदो संविधान दिवसअगावै कार्यान्वयन गरिने विषयमा पुनःप्रतिबद्धता समेत जनाएका छन् ।