भदौ १९, काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले परिमार्जनसहित कार्यविधि पारित गरेको हो । समितिको बिहिबार बसेको बैठकले कार्यविधिको मस्यौदा बनाउन कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र शशी श्रेष्ठ रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।
कार्यविधिमा न्याय परिषद, राष्ट्रिय मानवअधिकार आयोग, महान्यायाधिवक्ताको कार्यालय, न्याय सेवा आयोगको कामको अनुगमन, निरीक्षण र आवश्यक निर्देशन दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी न्याय र मानव अधिकारको क्षेत्रमा सरकारको काम, कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विज्ञहरुसँग आवश्यक परामर्श गर्ने व्यवस्था पनि समितिको कार्यविधिमा गरिएको छ । यसअघि बैठकमा बोल्दै समितिका सदस्यहरुले संविधान र प्रतिनिधिसभा नियमावलीका आधारमा समितिको कार्यविधि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।
समितिको कार्यविधिमा न्यायालयले फैसला गरेको मुद्दा विवादमा आए समितिले सम्बन्धित न्यायाधीशसँग सुनुवाई गर्न सक्ने व्यवस्था गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्