राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठक छाडेर पोखरा उडेपछि शुक्रबारको महत्वपूर्ण दोस्रो बैठक प्रभावित भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पहिलो बैठक प्रारम्भ गरेपछि उपाध्यक्षलाई सञ्चालन गर्न लगाई अध्यक्ष तिमल्सिना मुस्ताङमा हुने एक शैक्षिक कार्यक्रममा सहभागी हुन पोखरातर्फ लागेका थिए । शुक्रबार नै दोस्रो बैठक पनि बस्नुपर्ने थियो । तर, बैठक सुरु गर्न अध्यक्ष नै उपस्थित हुनुपर्ने नियमावलीमा रहेको व्यवस्थाका कारण दोस्रो बैठक बस्दै नबसी स्थगित भयो ।
साँझ सवा पाँच बजेका लागि बोलाइएको दोस्रो बैठकमा बालबालिकाको हकसम्बन्धी विधेयकलाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने कार्यसूची थियो । तर, राष्ट्रिय सभा नियमावलीमा बैठकको प्रारम्भ अध्यक्षबाट नै हुने व्यवस्था भएकाले अध्यक्षकोअनुपस्थितिमा बैठक बस्न सकेन ।
दोस्रो बैठक सुरु गर्न नियमावलीको व्यवस्थाअनुसार अध्यक्षको अनिवार्य उपस्थिति आवश्यक हुने भन्दै कांग्रेसले आपत्ति जनाएपछि २६ भदौसम्मका लागि सूचना टाँसेर बैठक स्थगित भयो । त्यसअघि समितिमा यो विधेयक नगएपछि यसमाथिको छलफल कर्मकाण्डी हुने देखिएको छ ।
२ असोजभित्र पारित गर्ने गरी समितिले औपचारिक छलफल गर्ने या घनीभूत छलफल गर्ने भन्ने विषय राष्ट्रियसभा अध्यक्षमा भर पर्ने संसद् सचिवालय स्रोतले बतायो । कांग्रेसका राष्ट्रिय सभा दलका नेता सुरेन्द्रराज पाण्डेले नियमावलीअनुसार अध्यक्षविना बैठक बस्न नसक्ने भएकाले दोस्रो बैठक बस्न नसकेको बताए ।










प्रतिक्रिया दिनुहोस्