स्वास्थ्य

स्वाइन फ्लु र हङकङ फ्लुबाट ३ जनाको मृत्यु



भदौ २८, सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुबाट ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कञ्चनरूप नगरपालिका वडा नं–७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं–३ का १४ वर्षीय किशोर राम र वडा नं–९ का १४ वर्षीय आमोदकुमार राम  रहेका छन् ।

कञ्चनरुप नगरपालिकाका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाइनफ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा स्वास्थ्य शिविर स्थापना गरी बिरामीको रगत र र्याल परीक्षण गरिएको थियो । एकपछि अर्को गर्दै लगातार बिरामीको संख्या थपिँदै गएपछि स्थानीयहरु त्रसित भएका छन् ।

कञ्चनरुप तथा हनुमाननगर नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको भाइरस फेला परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालीन बैठक बसेको छ । बैठकमा प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा हेल्प डेस्क राख्ने विषयमा छलफल भएको जनाइएको छ ।