भदौ ३०, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन्।
शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथोँ स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताएका हुन्।
बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पु–याउनु आवश्यक रहेको उल्लेख गरे। “सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न सकिँदैन” उनले भने, “शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानु पर्दछ ।”
“देशभित्र र बाहिर कतिपय शक्ति ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भनेर लागिरहेका छन्, हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्” उनले भने, “हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पुयाउछौँ ।”
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उनी जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुने थिए बताए। प्रचण्डले भने, “उहाँको पार्टी एकताबद्ध गराउनुपर्दछ भनेर भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।”
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमतिसमेत गराएको अध्यक्ष प्रचण्डले स्मरण गरे। “त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौँ” उनले भने, “उक्त प्रस्तावलाई बैठकभित्र सहज ढङ्गले उहाँले सहमति गराउनुभएको थियो ।”
अध्यक्ष प्रचण्डले बोगटी सरल, वैचारिक निष्ठा, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको स्मरण गरे। उनले आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको बताए।










प्रतिक्रिया दिनुहोस्