समाचार

नेपाल कोरियाद्धारा अस्पताल फार्मेसी र रेडियोलोजी ब्लकको सिलान्यास



असोज ४, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालले रेडियोलोजी ब्लक निर्माणको सिलान्यास गरेको छ ।

संविधान दिवसको अवसरमा नगरपालिकाद्धारा आयोजित कार्यक्रममा स्वास्थ्यमा नागरिकको सहज पहुँज अभिबृद्धि गर्नका लागि सेवा विस्तार कार्य अन्र्तगत व्लक निर्माण गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालले सहुलियत रुपमा औषधी सेवा प्रदान गर्न फार्मेसीको समेत सुभारम्भ गरेको छ । यसअघि निसान फार्मेसीले अस्पतालभित्र भाडामा सञ्चालन गर्दै आएकोमा नागरिकलाई सहुलियत औषधी बिक्रि गरि सेवा प्रदान गर्न अस्पताल आफैले फार्मेसी सेवा सुरु गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नागरिकको सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने गरि सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न यस बर्ष नेपाल कोरिया अस्पताल सञ्चालन र सेवा विस्तारका लागि नगरपालिकाले ८ करोड रुपैयाँ विनियोजन गरेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

यसैबिच नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाको हरेक कार्यमा एकलौटी गरेको भन्दै उपप्रमुख अञ्जना मधिकर्मी र १ नम्बर वडा अध्यक्ष सुरज खड्काले कार्यक्रम बहिस्कारको घोषणा गर्नुभएको छ ।

उपप्रमुख मधिकर्मीले अस्पतालमा कर्मचारी राख्ने, एम्बुलेन्स सञ्चालन गर्ने, नगरपालिकाकै योजनाहरु सञ्चालन गर्ने लगायतका नगरपालिकाका हरेक कार्यहरुमा एकलौटी गर्ने गरेको बताउनुभयो । उहाँले नगर प्रमुखले उपप्रमुखलाई निषेध नै गर्नेगरि मनोमानी ढंगबाट कार्य गरिराख्नु भएकाले कार्यक्रम बहिष्कार गरेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठलाई तत्काल आफ्नो कार्य शैली सच्याएर सहकार्य र सहमतीका आधारमा नगरको विकासमा एकमत हुन समेत उपप्रमुख मधिकर्मीले आग्रह गर्नुभयो ।

वडा नं. १ का वडाध्यक्ष खड्काले नगर प्रमुख श्रेष्ठले नगर कार्यपालिकाका उपप्रमुख तथा वडाअध्यक्षहरुलाई समेत जानकारी नदिई मनोमानी ढंगबाट काम गर्ने गरेकोले प्रमुखको कार्यशैलीको बिरोध स्वरुप कार्यक्रम बहिष्कार गर्नुपरेको बताउनुभयो ।