असोज ६, भक्तपुर । इजि पायोनियर स्कुल अन्र्तगतको इजि स्काउट ग्रुप इटाछें भक्तपुरले सगरमाथा आरोही ललितपुरका युवा स्काउट प्रकाशराज पाण्डेलाई सम्मान गरेको छ ।
शुक्रबार यहाँ आयोजित कार्यक्रममा सो स्कुल तथा ग्रुपले मध्यपुर थिमि नगरपालिका ५ सिद्धिकालीस्थित स्काउट स्थानीय परिषदको दुईतल्ले भवन निर्माणको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग पनि गरेको छ ।
इजि पायोनियर स्कूलका संस्थापक प्रिन्सिपल तथा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक विजेन्द्र ध्वँजु र इजि स्काउट ग्रुपकी अध्यक्ष सुचिता सैंजुले सगरमाथा आरोही पाण्डेलाई खादा, प्रशंसापत्र र टिका लगाइदिएर सम्मान गरिएको थियो ।
पाण्डेले गत जेठ महिनामा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँले त्यसअघि विश्व स्काउट संगठनका संस्थापक बेलायती लर्ड बेडेन पावेलको नाउँमा नेपाल सरकारले स्थापना गरेको रसुवाको ५ हजार ८९० मिटर अग्लो विपि हिमश्रृंखलाको पनि २ पटक सफल आरोहण गर्नुभएको थियो ।
सगरमाथा आरोही पाण्डेले सन् २०२० सम्म सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने र आरोहणमा जाँदा इजि स्काउट ग्रुपको झण्डा लिएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरि ध्वँजु दम्पतिले इ.जि पायोनियर स्कुल र इजि स्काउट ग्रुपको तर्फबाट स्थानीय परिषदको भवन निर्माणको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक पनि हस्तान्तरण गरे । सो रकम बराबरको चेक स्थानीय परिषदका आयुक्त हरिबहादुर श्रेष्ठ, निर्माण समितिका संयोजक भुवनचरण श्रेष्ठ र सदस्य दिलकृष्ण प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सगरमाथा आरोही पाण्डेले विपि हिमश्रृंखला दुईपटक र पहिलोपटक सगरमाथा आरोहण गर्दाको अनुभव सुनाउँदै जहाँसुकै जाँदा पनि अनुशासनको ठुलो महत्व हुने बताउनुभयो ।
त्यस अवसरमा भक्तपुर जिल्लाका पुर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी, वरिष्ठ स्काउट गुरु उमेशलाल नेपाली, स्थानीय परिषदका आयुक्त हरिबहादुर श्रेष्ठ, निर्माण समितिका संयोजक भुवनचरण श्रेष्ठ, सदस्य दिलकृष्ण प्रजापति, लायन्स क्लव दरवार स्क्वायरका रवि नारायण कायस्थ, ललितपुरका स्काउट गुरु नरेश अवाले लगायतका बोलेका थिए भने कार्यक्रममा स्काउट गुरुद्वय बलराम प्यासी र रविन्द्र बासुकला लगायतको सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्