असोज ६, काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा प्रदुषण तथा फोहोर गर्नेलाई स्थानिय सरकारले जतिसक्दो करा बढाउनुपर्ने र अन्यलाई करको मात्रा घटाउनुपर्ने बताउनुभएको छ ।
‘उठौं जागौं हनुमन्ते नदी सफा गर्न सबै लागौं’ ‘स्वच्छ सफा हराभरा, हाम्रो प्यारो मनोहरा’ भन्ने मुल नारालाई आत्मसात् गर्दै मनोहरा सफाई अभियानको ८० औं हप्ता तथा हनुमन्ते नदीको ३० औं हप्ताको संयुक्त कार्यक्रम तथा ‘हनुमन्ते बुलेटिन बिमोचन’का क्राममा मन्त्री पण्डितले अहिलेको पुस्ताले जनमुखी कार्य गरी आउने पुस्ताको भाग्य र भविष्यको निर्धारण गर्नुपर्ने बताउनुभयो ।
नेपाललाई सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्ने भन्दै मन्त्री पण्डितले विदेशीले भन्ने गरेको नेपाली स्वस्थ नै हुँदैनन् भन्ने मान्यताको अन्त्य गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सकरात्मक सन्देश दिनुपर्ने बताउनुभयो । मन्त्री पण्डितले भन्नुभयो ‘नदीको दायाँ बाँया धेरै ठाउँमा बरपिपलको विरुवा रोपौं, परम्परागत धार्मिक मुल्य र मान्यतालाई कायम गरि वातावरण स्वच्छ र सफा बनाऔं ।’
कार्यक्रममा आयोजकले मायाको चिनोको रुपमा एउटा अम्बाको विरुवा हस्तान्तरण गरेको र उक्त विरुमा आजै मन्त्रालयमा रोप्ने मन्त्री पण्डितले बताउनुभयो ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अरनिका राजमार्ग अन्तर्गत काभ्रेबाट भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई साँगा तथा काठमाडौँबाट भक्तपुर हुँदै काभ्रेतिर जाने सवारी साधनलाई जडिबुटिमा सफा गरेपछि मात्र प्रवेश गराउने कार्य अघि वढाउन सम्बन्धीत स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सांसद वस्नेतले कोटेश्वरको जाम अन्त्य गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडो अहिलेको आवश्यकता रहेको भन्दै यसलाई जतिसक्दो छिटो कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद प्रतिमा श्रेष्ठले सरकराले जति नीति नियम बनाए पनि कार्यान्वयनमा फितालो भएका कारण प्रदुषणको मात्रामा वद्धि भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा कलाकर्मि तथा नायक शिव श्रेष्ठले आगामि दिनमा आफुले निर्माण गर्ने चलचित्रमा हनुमन्ते तथा मनोहरा नदी सफाईको कथावस्तु समावेश गरी जनचेता फैलाउने कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्