असोज ७, काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वर वातावरण प्रदुषणलाई न्युनिकरण गर्ने उद्देश्यका साथ कोटेश्वर चोकस्थित ट्राफिक आइल्याण्डमा शनिबार साँझ वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।
सयपत्री, मखमली लगायतका मौसमी फूलको विरुवा रोपेर महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रभाग प्रमुख प्रहरी निरीक्षक एलिजा गिरी, अखिल नेपाल फुटवल संघ एन्फाका मनोनित उपाध्यक्ष एवम् वित्त विभागका प्रमुख तथा सरस्वती क्लव कोटेश्वरका अध्यक्ष शिक्षित पराजुली, एन्फाको सामाजिक विकास संयोजक उत्तम भण्डारी, कोटेश्वर व्यवसायी संघका उपाध्यक्ष विकास श्रेष्ठ, स्थानीय वरिष्ठ पत्रकार एवम् स्काउट गुरु बलराम प्यासीलगायतले वृक्षारोपण गर्नुभयो ।
प्रभाग प्रमुख भएर आएपछि प्रहरी निरीक्षक गिरीको यो पहिलो सामाजिक कार्य भएको प्रभागले जनाएको छ । उहाँले गत आइतबारदेखि प्रभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो ।
यसअघिका कोटेश्वर प्रभाग प्रमुख प्रहरी निरीक्षक राजु लामाले अनुसन्धान तथा अपराध न्युनिकरणमा उल्लेखनिय योगदान गरेवापत नेपाल प्रहरीबाट नगदसहित उत्कृष्ट प्रहरी निरीक्षकको पुरस्कार पाउनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्