असोज ८, काठमाडौं । आजा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा थियो ।
यस वर्ष आइतबार र सोमबार दुवै दिन सूर्योदयकालमा चतुर्दशी तिथि भए पनि पूर्णिमा तिथि भने मङ्गलबार बिहानको सूर्योदयकालमा भएकाले सोमबार इन्द्रजात्रा मनाउने गरी निर्णय गरिएको समितिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्