राजनीति

सबै विद्यालयमा प्राविधिक शिक्षा, देशमै रोजगारी सिर्जना : उपप्रधानमन्त्री पोखरेल



असोज ८, हेटौंडा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी सबै विद्यालयमा व्यवसायिक र प्राविधिक शिक्षा लागू गर्ने तयारीमा रहेको बताएका छन् ।

मकवानपुर भीमफेदी गाउँपालिकाको महेन्द्र माविको हिरक महोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले  प्राविधिक शिक्षामा जोड दिएको बताएका हुन् ।

‘सरकारले ७० प्रतिशत व्यवसायिक र ३० प्रतिशत मात्र व्यवहारिक शिक्षा अध्यापन गर्ने नीतिमा छ ।’ उनले भने शिक्षाको क्षेत्रमा भएका परम्परागत विधिलाई बदल्दै देशमै रोजगारी सिर्जना गर्ने बताए ।

राज्य सञ्चालनको पुराना विधि, नीति तथा अभ्यासका अड्चनलाई नबदली देशमा परिवर्तन सम्भव नभएको भन्दै उपप्रधानमन्त्री पोखरेलले सरकारको ७ महिनामा यस्तै नीतिमा नमिलेका कुरालाई परिवर्तन गरी विकास र समृद्धिको मार्गमा अघि बढेको बताए ।

२०७२ सालको भूकम्पले विद्यालय भवन ध्वस्त भएपछि जापानी सहयोग नियोग (जाइका) को सहयोगमा ३ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण भएको ३ वटा सुविधा सम्पन्न विद्यालय भवनको उद्घाटन गरिएको हो । प्राविधिक शिक्षालाई निरन्तरता दिनका लागि विद्यालयले असोज १ बाट सञ्चालन गरेको महायज्ञमा ४० लाख रुपैयाँ संकलन भएको विद्यालयमा  ५ सय ७५ विद्यार्थी अध्यनरत छन् ।