Banner News

वातावरण सफा राख्न दिमागबाट फोहोर हटी सोचमा शुद्धता आउनुपर्छ : सांसद बस्नेत



असोज १३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले वातावरण सफा राख्न मानिसको सोचमा शुद्धता आउनुपर्ने बताउनुभएको छ ।

भक्तपुर जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गर्दै सांसद बस्नेतले मानिसको दिमागबाट फोहोर नहटेसम्म वातावरणिय फोहोरको अन्त्य नहुने बताउनुभो । सरकारले सन् २०३० सम्ममा सम्पूर्ण मुलुकलाई पूर्ण सरसफाइयुक्त मुलुक घोषणा गर्ने लक्ष्य लिएको बताउँदै आगामी १२ बर्षमा जिल्लालाई पूर्ण रुपमा सरसफाइयुक्त घोषणा गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गरेका प्रतिबद्धता पूरा गर्नको निम्ति सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट दायित्व र भूमिका निर्वाह गर्नु जरुरी छ ।’

सांसद बस्नेतले भक्तपुर नगरभरिको फोहर सल्लाघारीमा र मध्यपुर र सूर्यविनायकको फोहरलाई इमाडोलमा फोहरको शुद्धिकरणको विधिबाट खोलालाई सफा बनाउने काम अगाडि बढिरहेको बताउनुभयो ।

भक्तपुरको वातावरण सफा र सुन्दर बनाउन हनुमन्ते नदी तथा मनोहरा नदीको सफाई अभियान सञ्चालन गरेसँगै धेरै मात्रामा फोहोरको व्यवस्थापन भएको बताउनुभयो । त्यस्तै प्राकृतिक विपत्ती तथा वाढी पहिरोबाट बच्ने कार्यको लागि आगामी दिनमा नदीको करिडोर निर्माणको कुनै विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले हनुमन्ते नदीको करिडोर निर्माणको कार्य अधि वढिसकेको र तिव्र गतिमा निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो । नदीको किनारमा बन्ने २०/२० मिटर तथा नदीको चौडाइ २० मिटर गरी जम्मा ६० मिटरको बनेपछि बाढीको जोखिमबाट मुक्त हुने बताउनुभयो ।

भक्तपुरको वातावरण संरक्षणको निम्ति यहाँ चालू रहेका ६८ वटा इटा भट्टाको व्यवस्थापन गर्नु जरुरी भएको बताउँदै उहाँले बालुवा र माटोको दोहन जसरी भइरहेको छ त्यसको व्यवस्थापन गर्नु पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । त्यस्तै सांस्द वस्तनेतले वर्तमान सरकारकाले विकास निर्माणका कार्यहरु द्रतु गतिमा वढाउने कार्य अघि वढाइरहेको समयमा अदालतले समेत विकास निर्माणका कार्यमा बाधा पुर्याउने कार्य गरिहेको बताउनुभयो । त्यस्तै उहाँले भक्तपुरमा विकासको मुहार फेर्ने कार्य तिव्र गतिमा अघि वढेका कारण केही राजनैतिक दलले विकासको विरोध गरिरहेको बताउनुभयो । विकासको विरोध गर्ने आफै परास्त हुने भन्दै विकासमा ऐक्यवद्धता जनाउँदै राजनीतिमा प्रतिपर्धा गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का सांसद शशिजंग थापाले प्रत्येक नागरिकले आफ्नो घरभित्रको फोहर आफैं सफा गर्ने र त्यसको सहि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरसफाइ राज्यको दायित्व भन्दा पनि व्यक्ति–व्यक्ति आफैले आफ्नो वरपरको क्षेत्र सफा राख्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘म मेरो घर र वरपरको सरसफाइ आफै गर्ने गर्छु, सरसफाइको लागि म अरु कसैको मुख ताक्दिन ।’

कार्यक्रममा प्रदेश ३ का सांसद राजेन्द्रमान श्रेष्ठले मानिसको मानसिकता, मन र सोच्ने शैली सफा हुन सक्यो भने मात्र घर र समाज वरपर पनि सफा हुने बताउनुभयो । उहाँले सरकारले २०३० सम्ममा मुलुकलाई पूर्ण सरसफाइ युक्त बनाउने भने पनि हाम्रो सार्थक प्रयासले अबको ५ बर्षभित्र पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन सकिने बताउनुभयो । अर्का प्रदेश सांसद रजनी जोन्छेले राजनीतिक प्रतिशोध नराखी सबै एकढिक्का भएर सरसफाइ अभियानलाई सार्थक बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवमु जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस भक्तपुरका सह–सचिव किरण न्यौपाने, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, खानेपानी क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका प्रमुख नन्दलाल बन्जाडे, चाँगुनारायण नगरपालिकाका उपप्रमुख वीना बास्तोला, राष्ट्रिय खानेपानी तथा सरसफाई कार्यालयका सदस्य सचिव देबेन्द्र झा, जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख सिवेन्द्र झालगायतले आगामी पाँच बर्षभित्रमा भक्तपुरलाई पूर्ण सरसफाइ युक्त बनाउने अभियानमा सक्रिय भएर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा सरसफाइ रणनीतिक योजना निर्माण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिहरु, प्राविधिक समूह तथा सरसफाइ अभियानमा महत्वपूर्ण योगदान गर्ने बिभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।