समाचार

धनगढी अनिश्चितकालिन बन्द : दुई तिहाईको दम्भ देखाएको आरोप



असोज १३, धनगडी । दुई तिहाइको दम्भ देखाई प्रदेश नम्बर ७ को राजधानी धनगढीबाट सार्ने निर्णय भएकोमा आन्दोलनरत धनगढीबासीले बन्द गरेका छन् ।

प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका सार्ने प्रस्ताव विहिवार बसेको प्रदेशसभा बैठकले राजधानी गोदाबरी नै रहने गरी दुई तिहाई बहुमतले पास गरेपछि धनगढीका जनता झनै आक्रोशित बनेका छन् ।

स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

प्रदेश सरकार र सत्तापक्षले संविधानअनुसार प्रदेशबासीको चाहना पूरा गर्न सकिएको भन्दै खुसी व्यक्त गरेको छ । यसअघि दुई तिहाई बहुमतले नामाकरण र राजधानी टुङ्ग्याउने निश्चित भएपछि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले प्रदेशसभाको बैठक वहिष्कार गरेका थिए ।