राजनीति

सेवा, सुविधा र ज्याला तोकिए बमोजिम कार्यान्वयन नभए कडा कारवाही : मन्त्री विष्ट



असोज १४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सेवा, सुविधा र ज्याला तोकिए बमोजिम कार्यान्वयन नभए कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल इलेक्ट्रिसियन सङ्घको नवौँ वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै उहाँले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताउनुभयो । मन्त्री विष्टले इलेक्ट्रिसियनले प्राप्त गर्ने सेवा, सुविधा र ज्याला तोकिएबमोजिम कार्यान्वयन नभए सरकारले कडाईका साथ लागू गर्ने बताउनुभयो ।

गरीबी, अभाव र बेरोजगारी अन्त्य गर्ने बताउँदै मन्त्री विष्टले भन्नुभयो “हामी देशलाई आफ्नै पौरखले बदल्न चाहेका छौँ, जिन्दगीलाई आफ्नै मेहनतले सिगार्न चाहेका छौँ, समाज र देशलाई बदल्नका लागि कर्ममा विश्वास गर्दछौँ, कर्ममार्फत नै हाम्रो भविश्य बदल्छौँ, देश बदल्छौँ ।”

नेपाल विकासको प्रारम्भिक चरणमा रहेको बताउँदै उहाँले विकासका धेरै क्षेत्रलाई आधुनिक र नयाँ ढङ्गबाट लैजानुपर्ने उल्लेख गर्नुभयो । मन्त्री विष्टले भौतिक पूर्वाधारका क्षेत्रमा पर्याप्त ध्यान दिनुपर्ने छ, पूर्वाधार जति धेरै निर्माण भए, त्यतिनै रोजगारी सिर्जना हुने र नेपालभित्रै कामको अवसर प्राप्त हुने दावि गर्नुभयो ।

मन्त्री विष्टले सीप, पाठ्यक्रमलाई वर्तमानको विकास र आवश्यकता, विज्ञान र प्रविधिको तीव्र विकाससँगै अद्यावधिक गर्नु जरुरी रहेको बताउनुभयो । नयाँ नयाँ प्रविधिको विकाससँगै सीप मेल नखान सक्छ, सीप, दक्षता र तालीमलाई परिमार्जित गर्नुपर्ने समेत बताउनुभयो ।