राजनीति

राज्यका तीनै तहको जाँच र सन्तुलन स्वतन्त्र रुपमा मिडियाले गर्नुपर्छ : उपाध्यक्ष खड्का



असोज १७, भक्तपुर । सर्बोच्च अदालत वार एशोसिएसन नेपालका उपाध्यक्ष तथा अधिवक्ता राजु खड्काले राज्यका कार्यपालिका, व्यवस्थापीका तथा न्यायपालिकाको जाँच र सन्तुलन स्वतन्त्र रुपमा मिडियाले गर्नुपर्ने बताउनुभयो ।

आज नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको नागरिकको आँखामा मिडिया विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष तथा अधिवक्ता खड्काले समाचारमा सन्तुलन नराख्ने, विज्ञापनलाई समाचार बनाउने, हुबहु समाचार हाल्ने र समाचारमा चाकडीपन देखिने गरेको आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीलिप थापामगरले सत्य तथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताउनु भएको छ । उहाँले सत्यतथ्यमा आधिरित भएर समाचार सम्प्रेषण गर्न संचारकर्मी र मिडिया हाउसलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– “कसैको प्रभावमा परेर गलत समाचार लेख्ने पत्रकारलाई अब छुट हुदैन, महासंघ आफैले कारबाही गर्छ, यसमा पत्रकारहरु सचेत हुनुहोस् ।” उहाँले सत्यतथ्य समाचार लेख्न भने खुट्टा नकमाउँन आग्रह गर्दै मिडियालाई संकुचित गर्न संचार विरोधी कानून ल्याएर त्यसलाई चिरेर महासंघ संचारकर्मीको पक्षमा अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकारले पत्रुकारिता, पर्चाकारिता, पित पत्रकारिता नगरी वास्तविक पत्रकारिता गर्नुपर्नेमा जोड दिदै भ्रम छर्ने, भड्काउँने समाचार नलेख्न आग्रह गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारिता नै नपढेका, नजानेका व्यक्ति पत्रकारितामा हावी हुदै आएको टिप्पणी गर्दै पैसा कमाउँन कै लागि यो पेशा रोज्न नहुने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले पत्रकारले समाचार लेख्ने विषय नै कतिपय अबस्थामा नबुझेको बताउँदै महिला बालवालिका पक्षको समाचारले स्थान नपाउने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नागरिकका तर्फबाट निर्माण व्याबसायी महासंघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईले अनगिनती रुपमा खुलेका मिडियाले यथार्थ भन्दा पर रहेर समाचार लेख्ने गरेको, संवेदशनिल विषयमा निष्पक्ष हुन नसकेको र पत्रकारितामा दलीय गन्ध आउँने गरेको बताउनुभयो ।

एन प्यब्सन भक्तपुरका अध्यक्ष जि.वि. खड्काले सम्बन्धित पक्षसंग सम्पर्क नै नगरी समाचार लेख्दा यथार्थ नआउँने गरेको बताउनुभयो ।

उपभोक्ता मञ्च भक्तपुरमा अध्यक्ष मनोज थापाले जो पनि पत्रकार, पढ्दै नपढेका पनि पत्रकार बन्ने गरेको गुनासो गर्दै पत्रकारको नाममा जे पपनि गर्न पाईन्छ भन्ने मानसिकता त्याग्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल बार एशोसियसन भक्तपुरका सचिव किरण न्यौपानेले निष्पक्ष भएर समाचार सम्प्रेशन नगर्दा धेरैको जीवन बर्वाद भएको बताउँदै स्वच्छ भएर पत्रकारिता गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश नागरिक समाजका व्यक्तिहरुले पत्रकारिता निष्पक्ष हुन नसकेको भन्दै पत्रकार बन्न धेरै सजिलो भएकाले यसको दुरुपयोग भएको बताउनुभयो । कार्यक्रममा नेकपाका अध्यक्ष बचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, उपत्यका प्रदेशका अध्यक्ष एन के दाहाल,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, उपाध्यक्ष कविता थापा, सचिब कृष्ण नेपाल लगायतले भक्तपुरको पत्रकारिता अन्यत्र भन्दा निष्पक्ष हुने गरेको भनाई राख्नुभयो ।