असोज १७, एजेंसी । इन्डोनेशियामा शुक्रबार आएको भूकम्प र सुनामीमा अहिलेसम्म कम्तिमा १३ सयको मृत्यु भइसकेको छ ।
अन्तर्राष्ट्रिय संस्था रेड क्रसका अनुसार उक्त भूकम्पबाट लगभग १६ लाख मानिस प्रभावित भएका छन् । यस्तै संयुक्त राष्ट्रका अनुसार लगभग १० लाख मानिसहरुलाई तत्काल मद्दतको आवश्यकता छ ।
जतिबेला भूकम्पको झट्का आयो, त्यतिबेला थुप्रै मानिसहरु समुन्द्रको किनारामा पर्वको तयारी गरिरहेका थिए । बालारोआमा लगभग एक हजार सात सय घर र पेटोबोमा सयौं घर ढलेका छन् । यसबाहेक क्रिस्चन स्टडी समूहका ३० बालबालिकाको मृत्यु भएको छ ।
पालू शहरको पश्चिमी भागलाई पूर्वी भागसँग जोड्ने एक सय २७ मिटर लामो जिमालम पूल पूर्ण रुपमा ध्वस्त भएको छ । पानी, बिजुली र खानेकुराको हाहाकार मच्चिएको छ । बाटोमा छरिएका भग्नावशेषले यातायात रोकिएको छ ।
धेरैजसो मृतकलाई खाल्डो खनेर सामूहिक रुपमा गाडिएको छ । यद्यपी, थुप्रै शव अहिले पनि भग्नावशेषको मुनी दबिएका हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्