समाचार

डीभीको आवेदन आज रातिबाट खुल्दै, कसरी भर्ने ?



असोज १७, काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् । आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिनेछ ।

तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य पति–पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ । तपाईंले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।