Banner News

एक दिनमा एउटा विकास निर्माणको कार्य : सांसद बस्नेत



असोज १९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि पूर्वाधारको विकास गर्दै एक दिनमा एउटा विकास निर्माणका कार्यहरु गर्ने आफ्नो महत्वकाक्षी योजना रहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका–१, सिम बिरुवा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सिम बिरुवा खानेपानी आयोजनाको ‘खानेपानी ट्याङ्की’ शिलान्यास कार्यक्रममा उहाँले वर्तमान सरकार दुई तिहाईको रहेकाले आगामी दिनमा जनतामा आशा, उर्जा र उत्साह थपिने र उक्त कार्यलाई कसैले रोक्न नसक्ने दावि गर्नुभयो ।

केही राजनैतिक दल ताथ प्रतिपक्षिदलले विकास निर्माणका क्रममा सरकारमाथि कर वृद्धि, डा. गोविन्द केसी लगायतका कुराहरुमा नकरात्मक माग प्रस्तुत गर्न लगाई सरकार विरोधी कृयाकलाप गर्ने गरेको भन्दै कुनै पनि भ्रमको पछि लाग्नु नपर्ने बताउनुभयो ।

व्यवस्थित योजनाका साथ कार्य गरेका कारण विकासको गतिले तिव्रता पाएको भन्दै अघिल्लो वर्ष ३८ करोड बजेट ल्याई ११६ वटा साना कार्यहरु गरेको बताउनुभयो । विकास निर्माणको लागि बजेट निरन्तर ल्याउने साथै नगरपालिकाले पनि बजेट विनियोजन गरेको बताउनुभयो । त्यस्तै भक्तपुरमा सडक विस्तारलाई उच्च बनाउन १८ वटा सडकको स्तरउन्नती हुने निश्चित भएको समेत बताउनुभयो ।

ठूला सडकको स्तरउन्नती गर्न सडकको सिमाङ्कनको विवाद अन्त्य हुनसाथ टेण्डरको प्रक्रिया अघि वढ्ने जानकारी गराउनुभयो । त्यस्तै घ्याम्पेडाडालाई ग्रामिण पर्यटकिय क्षेत्रको विकास गर्दै होमस्टे सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भक्तपुरमा स्मार्ट सिटीका साथ साथै सभागृह, कवोर्डहल, रङ्गगशाला, प्राणी उद्यान केन्द्र लगायतका राष्ट्रिय गैरवका विकास निमार्णका कार्यहरु हुने बताउनुभयो ।

उहाँले चाइना केन्द्रिय सरकारको मातहतमा रहेका चार कम्पनी मध्येको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले सूर्यविनायक नगरपालिका वडा नं. १० सूर्यमोडमा रहेको एक स्थान र महादेव खोला मुहान पोखरीमा ड्याम्प बनाउन अध्ययनको कार्य शुरु गरेको बताउनुभयो ।

४५० घरधुरीलाई खानेपानी वितरण गरिने योजनाका साथ शिलान्यास गरिएको उक्त ट्याङ्की तीन करोडको लागतमा दुई लाख २५ हजार लिटर क्षमताको हुने बताईएको छ ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद शसिजंग थापा, नेपाली काग्रेसका पूर्व सभासद् लेखनाथ न्यौपाने, खानेपानी डिभिजन कार्यालयका प्रमुख शिबेन्द्र झा, सूनपा १ का वडाध्यक्ष सानुकाजी कायस्त, स्थानीय जनप्रतिनिधि तथा सरकोकारवाला व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।