Banner News

सुनार परिवारलाई सांसद पहारीद्वारा सहयोग, दिदी भाईलाई निशुल्क शिक्षा प्रदान



असोज २३, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारीले पोखरामा बलत्कार पछि हत्या गरिएकी श्रेया सुनारको आमा बेलकुमारीलाई तीस हजार आर्थिक सहयोग हस्तान्तरण गर्दै सुनारको दिदी भाईलाई निशुल्क शिक्षा प्रदान गर्ने बताउनुभएको छ ।

प्रदेश सांसद पहारीको नेतृत्वमा, कास्की जिल्ला अधिकारी प्रमुख (सिडियो) चक्रबहादुर वुढा, कास्की सशस्त्रका प्रमुख (एसपी), कास्की जिल्ला प्रहरी प्रमुख (एसपी) ओमबहादुर राना मगर, केन्द्रीय अनुसन्धानका (एसपी) लगायतको टोली आज काज क्रियाको ६ दिनको अवसरमा पिडित परिवारको घरमा नै पुगी उक्त उद्घोष गर्नुभएको हो ।

समाजको समस्या आफ्नो समस्या तथा सुनार परिवारको समस्या आफ्नै समस्या भएको भन्दै सांसद पहारीले बलत्कारीलाई सकेसम्म कानुन परिवर्तन गराएर भए पनि फाँसीको सजाय दिलाउने नभए पनि सर्वस्व सहित जन्मकैद गराउने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो । उहाँले कानुन परिवर्तन गर्न तत्काल संसदमा कानुन संशोधनको आवज उठाउने समे आश्वासन दिनुभयो ।

सांसद राजिब पहारीले ब्यक्तीगत १० हजारको साथमा अन्य संस्थाले गरेको सहयोग सहित उक्त तीस हजार सुनारको परिवारलाई क्रिया खर्चमा बापत सहयोग गर्नुभएको हो । त्यस्तै सांसद पहारीले सुनारको आमाको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेकाले आफुले उपचार खर्च व्यहोर्ने समेत उद्घोष गर्नुभयो । त्यस्तै उहाँले जिल्ला सुरक्षा समितिको बैठकद्वारा सुनार परिवारलाई सहयोग गर्न केन्द्रिय सरकारमा सिफारिस समेत गरिसकेको जानकारी गराउनुभयो ।

सहयोग ग्रहण गर्दै पिडित परिवारले आफ्नो र आफ्नो परिवारको लागि साथ र सहयोग गर्ने कोही रहेछन् भन्ने आभास भएको बताएका छन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले समेत दोषीलाई कारवाही गर्न कुनै कन्जुस्याई नहुनेमा ढुक्क रहन आग्रह गरेका छन् ।