असोज २३, काठमाडौँ । काठमाडौँ उपत्यकामा खानेपानीको समस्यामा रहेका सर्वसाधारणले एटिएमबाट पैसा झिके जस्तै खानेपानीको लागि पनि एटिएम प्रयोग गर्न पाउने भएको छ ।
मन्त्रालयमा सोमबारको बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सुरु हुन लागेको जानकारी गराइएको हो । आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने भएको छ ।
निश्चित पैसा तिरेपछि शुद्ध पिउने पानी पाइने एटीएम मसिन राख्ने खानेपानी मन्त्रालय अन्तरगतको काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले तयारी थालेको हो ।
यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने बताइएको छ ।
बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले देशैभरि रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत पूर्ण सरसफाईको अभियानलाई अघि बढाउँदै लैजाने बताउनुभयो । पूर्ण सरसफाई सँगै ढलको व्यवस्थापनलाई समेत अगाडि बढाउने मन्त्री मगरले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्