असोज २५, महेन्द्रनगर । संघीय संसदको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयको सञ्चालनार्थको लागि आफ्नो मासिक कमाईको पाँच हजार दिने घोषणा गर्नुभएको छ ।
बुधवार बालअनाथालयको निरीक्षण गर्दै उनले सरकारी स्तरबाट गर्नुपर्ने आवश्यक सहयोग आफूले गर्ने बताउनुभयो । सभापति पालले भन्नुभयो ‘यसको सञ्चालन र यहाँ आश्रित बालबालिकाका लागि के गर्न सकिन्छ म गर्छु, अनाथालयले समेत आफूसंग भएको स्रोतको प्रयोग गर्नुपर्छ ।’
अनाथलयको अगाडी व्यापारिक प्रयोजनका लागि संरचना बनाउन सकिने जमिन रहेको छ । त्यसैलाई व्यापारिक प्रयोजनका लागि सटर निर्माण गर्न सके त्यसबाट अनाथालयको आयश्रोत बढ्ने सञ्चालनका लागि सहयोग हुने कुरा अञ्चल बाल अनाथालय सञ्चालन समितिले सभापति पाललाई जानकारी गराउनुभयो ।
सभापति पालले अनाथालयमा आश्रित बालबालिकाका लागि आवश्यक कार्ययोजना सहित अघि बढ्न सुझाव दिदै उहाँले भन्नुभयो ‘संस्थागत मैले गर्ने सहयोग म गर्न तयार छु, मासिक रुपमा आफुले पाउने पारिश्रमिकबाट ५ हजार दिने घोषणा गर्दछु ।’
सरकारले अहिले कुनैपनि बालबालिका सडकमा हुन नहुने नीति ल्याएकाले कुनैपनि बालबालिकाले सडकमा बस्नुपर्ने वाध्यता आउन नहुने बताउनुभयो । आफू यसै क्षेत्रको साँसद भएकाले आवश्यक सबै सहयोगका लागि तयार रहेको उनले प्रष्ट पार्नुभयो ।
उहाँले बाल मन्दिर क्षेत्रको समेत निरीक्षण गरेर त्यहाँको अवस्थाका बारेमा समेत जानकारी लिनुभएको थियो । समाज कल्याण अञ्चल बाल अनाथालय सञ्चालन समितिका अध्यक्ष पूर्णबहादुर चन्दले अनाथालयको अवस्थाका बारेमा सभापतिलाई जानकारी गराउनुभयो । ‘मासिक साढे २ लाख रुपैया खर्च छ, सबै खर्च अरुले दिएको सहयोगबाट नै चलेको छ’ उहाँले भन्नुभयो ‘सरकारले नै स्थापना गरेको यो अनाथालयलाई हाल वार्षिक २ लाख रुपैया मा त्रै बजेट दिने गरेको छ ।’
२०४९ सालमा स्थापना भएको अनाथालयका लागि भनेर सरकारले विगतका वर्षहरुमा वार्षिक १० लाखका दरले बजेट विनियोजन गर्दै आएको थियो । तर अहिले पछिल्ला केही वर्षयतादेखि भने २ लाख वार्षिक बजेट पठाउने गरेको छ । जुन रकमले बालबालिकाको लालनपोषणका लागि एकमहिनाको खर्च समेत पुग्दैन् । उक्त अनाथालयमा अहिले २२ जना बालबालिका आश्रित रहेका छन् । स्थापना भएयता अनाथालयमा आश्रित भएका मध्ये एकसय ६१ ज्ना बालबालिका समाजमा पुर्नस्थापित भइसकेका छन् ।
अहिले महेन्द्रनगरमा रहेका बैंक, बित्तिय संघसंस्थाहरु, बस व्यवसायी समिति, विभिन्न संघसंस्था लगायतले अनाथालय सञ्चालनका लागि आवश्यक सहयोग गर्दै आइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्