सम्पादकीय

वामदेवको उम्मेदवारीबारे ईश्वर पोखरेलको नयाँ खुलासा



उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य र्इश्वर पोखरेलले नेता वामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको दावी गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उपप्रधानमन्त्री पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टीभित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको बताए । उनले नेता गौतमलाई सांसद बनाउने विषय मुलुकमा अस्थिरता पैदा गर्ने गरी षडयन्त्रमूलक ढंगले आएकाले आफूले त्यस्ता गतिविधिको आलोचना गर्नु परेको बताए ।

दसैं, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर शनिबार आयोजित चियापान कार्यक्रममा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई स्वभाविक ढंगले अघि बढाउन बाधक हुने गरी आउने कुनै पनि गतिविधि विरुद्ध एक्लै भएपनि आफू उभिने बताए ।

उनले सरकारको पनि केही कमी कमजोरी भने रहेको उल्लेख गर्दै कामै गरेन भन्ने खालको टिप्पणी न्यायोचित नभएको र त्यसलाई सच्याउँदै अघि बढने दृढता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले सरकारले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई यस बीचमा उच्च प्राथमिकता दिएको बताए ।