कार्तिक २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिनुभएको छ ।
नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएको छ, “देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसङ्ख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो उमेर समूहको जनसङ्ख्या रोजगारको खोजीमा विदेशी भूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।”
उहाँले भन्नुभएको छ, “यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौँ । हामी आमजनताको विश्वास र अपेक्षालाई शिरोपर गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौँ ।”
दशैँ पर्वले नेपालको विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्ने माध्यम बनेको बताउँदै देशविदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले खुशियालीको पर्वका रूपमा रहेको विजयादशमीले सबैमा नयाँ उत्साह एवम् उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
उहाँले स्थानीय तह, प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरु क्रियाशील भई देश राजनीतिक सङ्क्रमणकालको चरण पार गरेर सामाजिक–आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको जनाउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्