कार्तिक ६, धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले संघिय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा हुने बताउनुभयो ।
दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आयोजित शुभकामना आदानप्रदान समारोहमा उहाँले राष्ट्र, राष्ट्रियताको पक्षमा एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रलाई अहित हुने कुनै पनि प्रदेशले निर्णय गरे त्यसलाई स्वीकार्य नहुने समेत बताउनुभयो । उहाँले दुर्घटना हुने गरी अगाडि बढ्ने मूर्खतापूर्ण कार्य गर्नु हुँदैन भन्नुभयो ।
कुनै पनि अतिवाद, विखण्डनवादको पछि नलाग्न आग्रह गर्दै उहाँले काठमाडौँबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले प्रदेश नं २ को सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना, निजगढ अन्तर्राष्ट्रिय हवाई अड्डा, जनकपुरधाम–सिमरा रेल सेवाका निर्माण कार्य यथाशीघ्र शुरू गरी विकासको क्रान्तिकारी भूमिका निर्वाह गरिने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्