कार्तिक ९, पोखरा । प्रतिनिभिसभाका सभामुख कृष्णबहादुर महराले गण्डकी प्रदेशको राजधनी पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्ने बताउनुभएको छ ।
आजदेखि क्विन्स इभेन्ट्सको आयोजनामा पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो । उहाँले दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी दुवैलाई जोड्न सक्ने क्षेत्रका रुपमा पोखरा रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताउनुभयो । प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको रमणीय वातावरणले देशी विदेशी खेलप्रेमीलाई लोभ्याउने बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टोलीले रु १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भिजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ विजेताले गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद रु १० हजार र प्रायोजकबाट ९एक्स्टेप, सुविसु, आदि० रु पाँच हजार बराबरको गिफ्ट एवं ह्याम्पर प्राप्त गर्नेछन् । पिपएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार रु १५ हजार ५०० प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुविसुको प्रिमियम प्याकेज प्राप्त गर्ने जनाइएको छ ।
आजको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन भिड्नेछन् । त्यस्तै प्रतियोगितामा विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौँ रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी छवटा टिम सहभागी हुनेछन् ।










प्रतिक्रिया दिनुहोस्