समाचार

अपाङ्गता भएका व्यक्तिलाई बैकिङ् सुविधामा सहजता गराइदिन माग



कार्तिक १३, काठमाडौँ । संविधानत विभेद्को अन्त्य गरे पनि अपाङ्गता भएका व्यक्तिलाई बैकिङ् सुविधा सहज गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा आज नेपाल राष्ट्र बैंकमा अपाङ्गता भएका व्यक्तिहरुलाई बैकिङ् सेवा सुविधामा सहजता गराइदिने भनि उक्त ध्यानाकाषर्ण पत्र बुझाइएको हो ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अधयक्ष जगदिशप्रसाद अधिकारले सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरु पढेर सुनाएर नेपाल राष्ट्र बैंकका वित्तिय संस्था नियमन विभागका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

दृष्टिविहिन महिला सरिता लामिछानेले बैंकिङ् सेवाहरु अन्तर्गत एटिएम बुथ तथा कार्डहरु, बैंकका संरचनाहरु अपाङ्गता मैत्री नभएको बताउदै दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि खाता खोल्न समेत कठिनाई भएको बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धती केन्द्रका ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले सबै बैंकहरुमा अपाङ्गता अनुकुलको वातावरण तथा संरचनाहरु निर्माण गर्नको लागि र सेवा सुविधा उपलब्ध गराउनको लागि अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिनुहुनको लागि अनुरोध गर्नुभयो ।

नेपाल नेत्रहिन संघका अध्यक्ष रमेश पोखरेलले दृष्टिविहिन व्यक्तिहरुले बैंकमा खाता खोल्दा उनीहरुलाई चेक बुक नदिने, एटिएम कार्ड नदिने, एटिएम मेशिनहरु दृष्टिविहिन अनुकुल तथा अपाङ्गता मैत्री बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले दृष्टिविहिन व्यक्तिहरुले पैसा चिन्न सक्ने मेशिनहरुको प्रविधिलाई नेपालमा पनि प्रयोग गराउनु पर्ने बताउनुभयो ।

नेपाल अपाङ्ग महिला संघकी अधयक्ष निर्मला धितालले बैंकिङ् सेवा सुविधाहरुलाई अपाङ्गता अनुकूलको बनाउनुको साथै एउटा बैंकले एक जना अपाङ्गता भएका व्यक्तिहरुको लागि रोजगारीको पनि पनि पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघकी अध्यक्ष लक्ष्मी महर्जन देवकोटाले बैंकका कर्मचारीहरुलाई पनि साङ्केतिक भाषाको तालिम दिन जरुरी रहेको बताउनु भयो ।

आयोजक संस्था महासचिव जगदिशप्रसाद अधिकारीले बैंकिङ् सेवा सुविधा उपलब्ध गराउने क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथामिकता दिनु पर्ने बताउनु भएको थियो ।

नेपाल राष्ट्र बैंकका वित्तिय संस्था नियमन विभागका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुकुल हुने गरी बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अब बन्ने बैंकका संरचनाहरु अपाङ्गता मैत्री बनाउने कुरामा ध्यान दिनुका साथै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सम्बन्धीत निकायसम्म लैजाने र यस विषयमा छलफल गर्ने बताउनु भयो ।