राजनीति

अवान्छनिय कार्यलाई निस्तेज पार्दै जनताको चाहना अनुसार भक्तपुरमा तिव्र विकास : सांसद बस्नेत



कात्तिक १६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर जिल्लामा हुने अवान्छनिय कार्यलाई निस्तेज पार्दै जनताको चाहना अनुसार तिव्र गतिमा विकासका कार्यहरु अघि बढिरहेको बताउनुभएको छ ।

नेपालीहरुको महान् चाडपर्वहरु दिपावली, नेपाल संम्वत्, छठ, ल्होछारको सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै उहाँले समृद्ध, सुखी तथा विकसित भक्तपुर बनाउन कुनै पनि कदम चाल्न पछि नपर्ने बताउनुभयो ।

उहाँले शुभकामना मन्तव्य राख्दै वातावरणलाई सफा र सुन्दर बनाउन सर्वप्रथम मानिसको मन तथा दिमाग नै सफा बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले हनुमन्ते नदी, राजमार्ग तथा शहर तथा बस्ती सफा बनाई सफा र सुन्दर भक्तपुरको परिकल्पनालाई साकार पार्दै लाखौं पर्यटकहरु भित्र्याई आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटिकय लगायतका विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अरनीको राजमार्गमा सडक दुर्घटना न्युनिकरण गर्दै उज्यालो सडक बनाउँदै भक्तपुरको घ्याम्पेडाँडा लागयतका क्षेत्रमा पर्यटिकय क्षेत्रको विकास गर्ने उद्घोष गर्नुभयो । उहाँले भक्तपुरका केही गाउँलाई ग्रामिण पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै लैजाने बताउँदै उक्त स्थानहरुमा होमस्टे बनाउने कार्य अघि बढेको जानकारी गराउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा सयौं ठूला तथा साना सडक निर्माणका कार्यहरु अघि बढिरहेको र ती सडकहरु निर्माण सम्पन्न भएपश्चात कोटेश्वको जामबाट उपत्यकावासीले छुटकारा पाउने बताउनुभयो । उहाँले बालकुमारीदेखी हनुमन्ते तथा मनोहरा नदीको दोभानसम्म, मनोहरा र हनुमन्ते नदीको करिडोर निर्माण कार्य अघि बढिसकेको जानकारी गराउँदै उक्त करिडोर निर्माण सम्पन्न भएपश्चात अल्पकालिन रुपमा कोटेश्वको जामलाई न्युनिकरण हुने बताउनुभयो । त्यस्तै दिर्घकालिन रुपमा जामलाई न्युनिकरण गर्न बालकुमारीदेखी रानीकोटसम्मको सडक निर्माण कार्य समेत प्रकृयागत रुपमा अघि बढिसकेको जानकारी गराउनुभयो ।

त्यस्तै अरनीको राजमार्गलाई छ लेनको बनाउन जापान सरकारले सहुलियत ऋण प्रदान गर्ने भएसँगै सूर्यविनायकदेखि धुलिखेलसम्मको राजमार्गको चौडाई वृद्धि गर्ने कार्य आगामी एक÷दुई महिनाभित्र देखि नै निर्माण कार्य शुरु हुने सांसद बस्नेतले बताउनुभयो । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्मको २० मिटरको सडक तथा नगरकोट सिपाडोल लगायतका केही सडक विस्तार गर्ने क्रममा आएका समस्या आएकाले त्यसलाई सम्बन्धीत निकायले समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भक्तपुरमा अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, सुरुङ मार्ग, कर्वोड हल, सुविधा सम्पन्न सभागृह, विर अस्पताल, स्मार्ट सिटी लगायतका राष्ट्रिय गौरवका विकास निर्माणका कार्यहरु सफल बनाउनु नै बर्तमान जनप्रतिनिधि तथा सम्बन्धीत निकायको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले भक्तपुरमा संघिय, प्रदेश तथा स्थानीय सरकारको मातहतमा परेका विकास निर्माणका कार्यहरु तथा योजनाहरुलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले योजनाहरु तथा प्राप्त बजेट फ्रिज भएमा नेतृत्वको क्षमता माथि नै प्रश्न चिन्ह खडा हुने भएकाले नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद सशीजंग थापाले जनताले दिएको जनमतले आफ्नो काँधमा थप जिम्मेवारी भएकाले आफ्नो कार्यकाल नै प्रदेशलाई समृद्ध र विकसित बनाउनेमा सवैलाई ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारको मुख्य लक्ष्यको रुपमा कृषि, पर्यटन तथा उद्योग भएकाले दक्षता तथा योग्यताका आधारमा रोजगारीको व्यवस्थापनमा प्रदेश सरकार लागि परिरहेको जानकारी गराउनुभयो । सांसद थापाले कर्मचारी व्यवस्थापन हुन नसक्दा प्रदेश सरकार सञ्चालनमा समस्या आएको भएको बताउनुभयो । त्यस्तै उहाँले न्यायलयले समेत विकासमा अवरोध गरिरहेको बताउनुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निर्माणका कार्यहरुमा हुन सक्ने सुरक्षाका चुनौतिलाई मध्यनजर गर्दै कुनै पनि प्रकारका अवान्छनिय गतिविधि भएमा त्यसलाई निस्तेज पार्ने बताउनुभयो । त्यस्तै उहाँले विकास निर्माणमा कुनै अवरोध आए तथा शान्ति सुरक्षा आवश्यक परे जुनसुकै समय खवर गरेपनि सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सडक डिभिजन कार्यालयका डिभिजन इन्जिनियर बेलबहादुर भुजेलले सडक निर्माणका कार्यहरुमा निर्माण कम्पनीले तोकिएको समयमा कार्य सम्पन्न नगरे कार्यालय चुप लागेर नबस्ने बताउनुभयो । उहाँले विकास निर्माणका कार्यलाई ढिलासुस्ती गर्ने कुनैपनि कम्पनीलाई कानुनी दायरामा ल्याउन पछि नपर्ने बताउनुभयो ।

भक्तपुर जिल्ला प्रहरी प्रमुख एसपी हिमाल कुमार श्रेष्ठले निर्देशन आएको खण्डमा प्रहरीले शान्ति सुरक्षा दिन एक इन्छ पनि पछि नपर्ने बताउनुभयो । साथै सूयविनायक गणका कर्नेल शिवप्रसाद पौडेलले सरसफाई लगायत विकास निर्माणका कार्यहरुमा नेपाली सेना जहिले पनि हाजिर हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, पूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाका उपप्रमुख अन्जना मधिकर्मी, स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।