राजनीति

बैकल्पीक उर्जासँग सहकार्य, फोहोरबाट ग्यास : सांसद बस्नेत



कात्तिक १७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बैकल्पीक उर्जासँग सहकार्य गर्दै भक्तपुबाट निस्कने फोहोरबाट ग्यास उत्पादन गर्ने बताउनुभएको छ ।

आज भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ३ स्थित ब्रह्मनगर टोल सुधार समितीले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले फोहोरबाट ग्यास उत्पादन गर्न सूर्यविनायक नगरपालिकाले एक अर्ब बजेट विनियोजन गरेको बताउनुभयो ।

जसले सफा गर्दैन उसको फोहोर गर्ने कुनै अधिकार नभएको भन्दै सांसद बस्नेतले समिति बनाई अनुगमनलाई तिव्र बनाउँदै फोहोर गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले सफा गर्नेभन्दा पनि फोहोर गर्न नदिने मुख्य चुनौति रहेकाले स्थानीय सरकारले कडाइका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

हनुमन्ते, अरनीको राजमार्ग तथा भक्तपुरमा रहेका बस्ती सफा बनाउन तीनै तहको सरकारको सहकारिता रहेको बताउनुभयो । हनुमन्ते नदीको करिडोर निर्माण गर्नु नै डुबानबाट मुक्त गराउने उत्तम उपाय भएको भन्दै करिडोर निर्माण गर्न सवै स्थानीयवासीले साथ र सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले हनुमन्ते नदी सफा बनाउन पहिलो कार्य नदीको फोहोर व्यवस्थापन, दोस्रो ढल व्यवस्थापन रहेको बताउनुभयो । त्यस्तै बालकोटमा ढल निर्माणको लागि साढे चार करोड रकम विनियोजन भएको समेत सांसद बस्नेतले जानकारी गराउनुभयो ।

सांसद विधि निर्माता मात्र नभई विकासका पहलकदमी कर्ता समेत रहेको भन्दै सिङ्गो भक्तपुर विकसित बनाउनु जनप्रतिनिधि काँधमा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भक्तपुरमा चार वटा आधुनिक नयाँ सहर बनाउने संकल्पका साथ अघि बढेको जसको लागि १२ करोड त्यस्तै कटुञ्जे, बालकोट, गुण्डु लगायतका ठाउँमा १७ हजार रोपनीमा शहर बनाउने कार्य अघि बढेको जसको लागि ४ करोड विनियोजन भएको जानकारी दिनुभयो ।

प्रत्येक बस्तीमा एक वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने महत्वकाक्षि योजना रहेको जानकारी बताउँदै पूर्ण आधुनिक सुविधा सम्पन्न विर अस्पतालको निर्माण प्रकृया अघि बढेको बताउनुभयो । उहाँले उक्त अस्पतालको निर्माणका लागि डिपिआर तयार गर्न १२ करोड रकम विनियोजन भएको बताउनुभयो ।

त्यस्तै उपत्यकामा अत्याधिक समस्याको रुपमा रहेको खानेपानी व्यवस्थापन गर्न महादेब खोला र साँगामा ड्याम बनाउने र खानेपानीको अभावलाई छुटकारा गराउने कार्य भइरहेको बताउनुभयो । उहाँले मेलम्चीको विकल्पको रुपमा उक्त दुई ड्याम्पको प्रयोग गर्न सकिने भन्दै उक्त स्थानबाट ३० प्रतिशत खानेपानी भक्तपुरमा र बाँकी रहेको ७० प्रतिशत पानी काठमाडौँ पढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

रंगशालाको निर्माणको टुङ्गो लगाउन युवा तथा खेलकुद मन्त्रालयदेखि प्राविधिक टोली आई शुक्रबार निरिक्षण गरेको र १५ दिन भित्रमा टुङ्गोमा पुर्याउने, प्राणी उद्यान केन्द्र, सभागृह लगायतका राष्ट्रिय गौरबका आयोजनाहरु भक्तपुरमा पर्नु भक्तपुरवासीको भाग्य र भविष्यसँग जोडिएको बताउनुभयो ।

अरनिका राजमार्गलाई व्यवस्थित गर्दै चौडाई वृद्धि गर्ने कार्य जापान सरकारको सहुलियत दरको ऋणका माध्यमबाट निर्माण प्रकृया तत्काल अघि वढ्ने समेत बताउनुभयो । त्यस्तै कोटेश्वको जामलाई हटाउन अल्पकालिन तथा दिर्घकालिन सडक योजनाहरु निर्माणका कार्यहरु अघि बढिरहेको बताउनुभयो ।

चुनाबको बेला राजनैतिक प्रतिस्पर्धा विकासमा ऐक्यवद्धता भन्दै प्रदेश नं. ३ का सांसद शसीजंग थापाले भक्तपुरका जनताले दिएको जनमतलाई आत्मसात् गर्दै साना तथा ठूला आयोजनाहरु निर्माण प्रकृया अघि बढिरहेको र त्यसलाई साथ र सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भक्तपुरका जनताका समस्यासँग जानकार रहेको भदै विकास निर्माणका कार्यहरुमा तीनै तहका सरकारसँग सहकार्य गरी अघि बढ्ने र जनतासँग गरिएका बाचालाई पुरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापा तथा उपप्रमुख जुना बस्नेतले स्थानीय सरकारले गर्न सक्ने तथा आफ्नो कार्यक्षेत्रमा पर्ने कुनै पनि विकास निर्माणका कार्यहरु अघि बढाउन कुनै कन्जुस्याई नगर्ने बताउनुभयो । उहाँहरुले नगरपालिकामा बजेटको अभावका कारण यस आर्थिक बर्षमा भने ६०/४० प्रतिशतका आधारमा विकास निर्माणका कार्यहरु अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।