कात्तिक १९, भक्तपुर । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालय भक्तपुरको आयोजनामा २०७५ को शुभ–दिपावलीको अवसर पारेर कार्तिक २१ र २२ गते गर्ने देउसीभैलो कार्यक्रमको पूर्व तयारी स्वरुप मानव कल्याण समाज सेवा घरको प्राङ्गणमा सांगीतिक प्रस्तुति सहित देउँसी भैलो कार्यक्रमको रियलसन गर्दै उठेको २५ हजार रुपौया रकम मानव कल्याण सेवा घरलाई सहयोग हस्तान्तरण गरेको हो ।
योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालबाट पानसमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको देउँसी भैलो कार्यक्रममा विभिन्न क्षेत्रका दानवीर व्यक्तित्वबाट संकलित उक्त रकम पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले मानव कल्याण सेवा घरकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गर्नु भएको हो ।
उक्त रकम ग्रहण गर्दै सेवा घरकी अध्यक्ष चौलागाईले यस सेवा घरले विभिन्न जिल्लाको मठ, मन्दिर, सडक, पेटीबाट उद्धार गरि ल्याईएका असाहय, मनोरोगीहरुको जीवन रक्षाको लागि पातञ्जल योग समिति नेपालले गरेको सहयोगको उच्च प्रसंशा व्यक्त गर्नुभयो ।
उक्त सहयोग प्रति कृतज्ञता प्रकट गर्दै पातञ्जल योग समिति योग, ध्यानमा मात्र आफ्नो कार्यक्रमलाई सीमित नराखी सामाजिक गतिविधिमा पनि क्रियाशिल रहेको ज्वलन्त उदाहरणीय कार्य भएको सेवा घरको अध्यक्ष चौलागाईले बताउनुभएको छ ।
योग समितीले संस्थाले देशव्यापी रुपमा नगरपालिका, गाँउपालिकाका हरेका वडाहरुमा निःशुल्क योग साधना केन्द्रहरु विस्तार गरी जनजनमा योग पुर्याउने लक्ष्य अनुरुप योगका गतिविधि र पूर्वाधार तयार गर्ने कार्यमा केही सहयोग पुगोस् भन्ने हेतु देउँसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको समितिका महासचिव नबराज काफ्लेले जानकारी दिनु भएको छ ।
उपत्यका भित्रका तिनै जिल्लामा खेलिने देउसी भैलो कार्यक्रममा भक्तपुर जिल्लामा सांसद, जिल्ला एवं नगरपालिकाका प्रतिनिधि लगायत स्थानीय प्रबुद्ध सामाजिक व्यक्तित्वको समुपस्थिति रहने समितिका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष योगप्रसाद आचार्यले जानाकारी गराउनुभयो । उहाँका अनुसार समितिले तय गरेको मिति, समय र स्थानमा हुँने देउसी भैलो कार्यक्रममा सहभागिता भै पातञ्जल योग समितिको अभियानमा साथ, सहयोग र सहकार्यको लागि जिल्लाबासी योगप्रेमी एवं शुभेच्छुकहरुलाई लागि आह्वान समेत गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्