नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकता र सरकारका कामले गति लिने बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको काम र पार्टी एकताको गति अब बढ्ने बताएका हुन् । ‘प्रदेश, जिल्ला र स्थानीय तहसम्मकै एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको छ,’ उनले भने, ‘एकताको काम केही ढिला भएकै हो, तर कसैले पनि दायाँ–बायाँ गर्न सक्ने अवस्था छैन ।’
मुलुकलाई राजनीतिक स्थायित्वमार्फत विकास र समृद्धि दिन दुई ठूला कम्युनिस्ट पार्टी एक भएको चर्चा गर्दै प्रचण्डले सरकार जनअपेक्षाअनुसार अघि बढ्ने दाबी गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता प्रचण्डले जनताको पक्षमा काम गर्न अनुकूल वातावरण बन्दै गएको बताए । ‘बर्खा र चाडपर्वको समय सकिएको छ, प्रधानमन्त्रीज्यूले पनि मन्त्रालयहरूको प्रगतिबारे अनुगमन थाल्नुभएको छ । विश्वस्त हुनुस्, अब सरकारको गति प्रभावकारी ढंगले बढ्छ,’ उनले भने ।
म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उद्योग व्यवसायको क्षेत्रमा बनेका पुराना ऐनहरू संशोधन नगरी मुलुकमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन कठिन रहेको भन्दै वर्तमान सरकारले त्यसतर्फ काम गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्