काठमाडौँ, ८ मङ्सिर , स्वच्छ, सफा, सुन्दर, हराभरा, लागुऔषध तथा दुव्र्यसनिलाई अन्त्य गर्ने उद्देश्यका साथ थालिएको अरनीको राजमार्ग सफाई अभियानमा आज ११ टन फोहोर संकलन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा राजमार्ग सफाई अभियानको तेश्रो दिन आज भएको उक्त अभियान भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका अन्तर्गत कौशलटारदेखि गठ्ठाघरसम्मको अरनीको राजमार्ग सफाई गरिएको हो । अभियानमा करिव ३७५ जनाको सहभागिता रहेको थियो । जसमा विभिन्न सरकारी संघसंस्था, गैरसरकारी संस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
एक महिनासम्म नियमित रुपमा संचालन गरिने उक्त अभियानले भक्तपुरलाई समृद्ध भक्तपुर बनाउने एउटा महत्वपूर्ण कदमको रुपमा लिइने बताइएको छ । त्यस्तै हनुमन्ते नदीको ३९ आंै हप्ताको अभियानसमेत सोही अरनीको राजमार्ग सफाई अभियानसँगैै संयुक्त रुपमा संचालन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको नेतृत्वमा रहेको अभियानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्र, राष्ट्रियताको पक्षमा रहि आम जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई केहि सिमित व्यक्ति वा व्यापार व्यवासाय सञ्चालन गर्ने संस्थाहरुले लाखौं आम नेपालीको स्वास्थ्य माथि खेलवाड हुनु नहुने बताउँदै आगामी दिनमा फोहोर गर्नेलाई हिरासतमा राख्ने समेत चेतावनी दिनुभएको छ । त्यस्तै उहाँले भक्तपुरको यो अभियानले देशलाई नै एक मार्गदर्शकको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टले स्वच्छ, सुन्दर वातावरणको निर्माण गर्दै समृद्ध भक्तपुर निर्माणको लागि अभियान सुरु भएको र आगामी दिनमा निरन्तर रुपमा रहने बताउनुभयो । उहाँले आगामी दिनमा फाहोर फालेको प्रमाणित भएमा कानुन अनुसार कारवाही गर्न प्रशासन अहोरात्र लागि पर्ने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्