कांग्रेसको विधान संशोधन मस्यौदा समितिले ८५ सदस्यीय केन्द्रीय समितिलाई १४१ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । आइतबार बस्ने केन्द्रीय समिति बैठकमा समितिले विधानको संशोधित मस्यौदा पेस गर्ने तयारी गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘१४१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी तयार पारिएको मूल मस्यौदा आइतबारको केन्द्रीय समितिको बैठकमा पेस गर्दै छौँ,’ समिति प्रवक्ता रमेश लेखकले भने । उनका अनुसार अब समावेशी क्लस्टरअनुसार २५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत हुने प्रस्ताव गरिएको छ । तर, मस्यौदाको मूल खण्डमा पदाधिकारीहरू भने पुरानै संख्यामा रहने गरी प्रस्ताव तयार गरिएको छ ।
पदाधिकारीदेखि केन्द्रीय सदस्यको संख्यासहितका फरक मतलाई मूल मस्यौदामा नपार्ने, तर संयोजकले प्रतिवेदनमा उल्लेख गर्नेछन् । मस्यौदालाई अन्तिम रूप दिन समितिका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरू रमेश लेखक, डा.मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू शनिबार मध्यरातसम्मै छलफलमा जुटेका थिए ।
आजको केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने कांग्रेसको संशोधित विधानको मस्यौदा २८ मंसिरदेखि सुरु हुने महासमितिमा पेस हुनेछ । समिति संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकमा विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।
मस्यौदाको मूल खण्डमा फरक मत नलाने, तर प्रतिवेदनमा भने फरक मतलाई उल्लेख गरेर लानेमा सहमति भएको समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए । मस्यौदामै फरक मत लिएर जाँदा गलत सन्देश जाने भएकाले प्रतिवेदनमा उल्लेख गरेर केन्द्रीय सदस्यको राय लिने गरी अगाडि बढ्न समिति सदस्यहरू सहमत भएका हुन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि सकेसम्म समितिले नै सबै कुरा मिलाउने र नमिलेका विषयमा केन्द्रीय सदस्यबाट राय लिने गरी मस्यौदालाई अघि बढाउने बताए ।










प्रतिक्रिया दिनुहोस्