Banner News

सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरुवात : प्रधानमन्त्री ओली



काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिनको संज्ञा दिनुभएको छ ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

आजको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देश माउल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको उल्लेख छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । “श्रमको सम्मानगर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दैछौं” प्रधानमन्त्रीको सन्देश माउल्लेख छ ।

प्रधानमन्त्री ओलीले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।