समाचार

उठौं, जागौं राष्ट्रलाई प्रदुषणमुक्त गर्न लागौं : अरनीको राजमार्ग सफाई अभियान



भक्तपुर, १३, मङ्सिर । स्वच्छ, सफा, सुन्दर तथा लागुऔषधमुक्त भक्तपुर बनाउने सफाई अभियान राष्ट्रकै लागि प्रदुषण मुक्त बनाउन ‘उठौं, जागौं राष्ट्रलाई सफा गर्न लागौं’ भन्ने सन्देश प्रवाह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको उक्त अभियानले सरकारको योजना अनुसार राष्ट्रलाई प्रदुषण मुक्त बनाउने अभियानको मार्गनिर्देशकको रुपमा हुने भएको छ । उक्त अभियानले ‘हेर, सिक र गर’ भन्ने सन्देश प्रवाह गरेको छ ।

अभियानले धार्मिक, सांस्कृतिक, परम्परा, पर्यटन लगायतका विकासमा उल्लेख्य प्रगति हुने अपेक्षा गरिएको छ । अरनीको राजमार्गका साथ साथै उत्तर दक्षिण समेत सडक तथा नदी सफाई गर्ने मूख्य उद्देश्यका साथ थालिएको एक महिने अभियान भक्तपुर जिल्लाको लागि मात्र नभई देशको नै मार्गदर्शकको रुपमा रहेको छ ।

सफाई अभियानको शूरुका दिनदेखि नै प्रायः करिव ७/८ टन फोहोरको संकलन गरी व्यवस्थापन गरिरहेको छ । आज उक्त अभियानको ८औं दिन पनि करिव ७ टन फोहोर संकलन गरिएको छ भने हालसम्म करिव २६ टन फाहोरको व्यवस्थापन गरिएको छ ।

अभियानले मानिसको स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई रक्षा गर्दै देशकै उदाहरणीय कार्यको रुपमा अघि बढ्नु मात्र नभई मानविय चेतनाको वृद्धि र विकास समेत गरेको छ ।

यो अभियानले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ । अभियानले सुन्दर, शान्त, पर्यटकिय, दुर्घटनामुक्त, जाममुक्त भक्तपुर बनाउने कल्पनालाई साकार बनाउन एउटा कोशेढुङ्गाको रुपमा सावित भएको छ ।