Banner News

२४औँ सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान



काठमाडौँ, १५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएसँगै उहाँको अनुपस्थितिमा संविधान बमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

विश्वका १९६ मुलुकका करीब ३० हजार व्यक्तिले भाग लिने पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि आइतबार उहाँले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नुहुनेछ । कार्यक्रम मङ्सिर १६ देखि २८ गतेसम्म हुने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार नै राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच आगामी मङ्गलबार द्विपक्षीय भेटघाट हुने जनाइएको छ । राष्ट्रपति भण्डारी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।