Banner News

कानून निर्माण र परिमार्जनलाई सरकारको उच्च प्राथमिकता : मन्त्री ढकाल



काठमाडौँ, १९ मङ्सिर । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुसको पहिलो साता हुने बताउँदै अधिवशेनले संविधानसँग बाझिएका कानून निर्माण तथा परिमार्जनलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले भवनको निर्माण पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलो भएको बताउनुभयो । उहाँले पुसको पहिलो साता भित्रमा भवन निर्माण सम्पन्न भइसक्ने समेत जाननकारी गराउनुभयो ।

संविधानसँग बाझिएका कानून निर्माणमा अहिले सरकार जुटेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘पहिले मौलिक हकसँग सम्बन्धित कानूनलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको थियो,’ मन्त्री ढकालले भने, ‘अहिले संविधानको धारा ३०४ अनुसार संविधानसँग बाझिएका कानून निर्माण र परिमार्जनको प्रयासमा लागेका छौं ।’