समाचार

पर्यटकीय क्षेत्र नगरकोटको विकासमा चार नगरको चार निर्णय



काठमाडौँ, २१ मङ्सिर । पर्यटकीय क्षेत्र नगरकोटको विकासका लागि सम्बन्धीत चार नगरपालिकाले संयुक्त रुपमा चार निर्णय गर्दै अघि बढ्ने सहमति भएको छ ।

विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै विरोध गरिरहेका थिए । उक्त क्षेत्रको सिमानामा परेका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने चार नगरपालिका काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुर नगरपालिकाले सयुक्त रूपमा बिहीबार चार बुँदे निर्णय गरेको हो ।

१. दुई जिल्लाबीचका चार नगरपालिकाले समेटेका सिमाना छुट्याउन नापी विभागमा अनुरोध गर्ने,

२. नगरकोट एकीकृत नगर विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउने र त्यसका लागि मण्डनदेउपुर र चाँगुनारायण नगरपालिकाले खर्च व्यहोर्ने,

३. नगरकोट पर्यटन क्षेत्र घोषणा गर्न नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डलगायत सम्बन्धित निकायमा पहल गर्ने,

४. भक्तपुरबाट नगरकोट जाने सडक ठेक्का लगाएको चार वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले काम नगरेकाले सडक विभागलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल गर्ने ।

मण्डनदेउपुर नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २२६ र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३३९ लिने गरेको थियो भने चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २०० र सार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३०० लिने गरेको थियो ।

चाँगुनारायण नगरपालिकाले भने यही २६ गतेबाट लागू हुने गरी तत्कालका लागि कर उठाउने काम बन्द गर्ने निर्णय गरेको थियो ।