काठमाडौँ, २२ मङ्सिर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले कानुनी राज्यमा बालबालिकाको संरक्षण तथा सम्बद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
आज एसओएस बालग्राम नेपाल, प्लान इन्टरनेशनल नेपाल, सेभ द चिल्डरेन नेपाल तथा युनिसेफ नेपालले संयुक्त रुपमा भक्तपुरमा आयोजना गरेको ‘नेपालमा बालबालिकाको वैकल्पिक हेरचार’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले बालबालिका मैत्री वातावरण सिर्जना गर्न बालबालिकाको स्वतन्त्रतापूर्वक शारीरिक तथा मानसिक वृद्धि र विकास गर्न पाउनु सवै बालबालिकाको समान अधिकार भएको बताउनुभयो ।
बालबालिका अभिभावकविहिन हुनु हुँदैन भन्दै मन्त्री थापाले सरकार बालबालिकाको सुरक्षा तथा युवालाई रोजगारीको ज्ञारेन्टी गर्दै सुखी नेपाली समृद्ध नेपाल नेर्माणको प्रक्रियामा द्रत गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले समाजमा योग्य, दक्ष तथा क्षमतावान् व्यक्तित्व निर्माण गर्न बालबालिकाको क्षेत्रमा सम्पूर्ण सम्बन्धीत सरोकार वाला निकाय तथा संघ संस्थाहरु एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै मन्त्री थापाले कार्यशाला गोष्ठिले बालबालिका देश र समाज प्रति वफदार हुने प्रकारको नयाँ योजना सार्वजनिक गर्नेमा विश्वास व्यक्त गर्दै पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
प्लान इन्टरनेशनलका उपनिर्देशक ब्रेइन बेकेट (Brian Beckett)ले सभ्य समाज निर्माणको लागि बालबालिकालाई उत्प्रेरणा तथा सहयोग आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयो । उहाँले नेपाल सरकारको बालबालिका सम्बन्धी कानुनत नीति तथा योजनालाई सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले नेपालमा सवैभन्दा बढी मानव बेचविखन तथा श्रम शोषणमा बालबालिका रहेको उल्लेख गर्नुभयो ।
युनिसेफ नेपालको नेपाल प्रतिनिधि टोम्मो होजुमी (Tomoo Hozumi)ले नागरिक समाजले बालबालिकामा हुने सवै प्रकारका अपराधको विरुद्धमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकार तथा सम्बन्धीत सरोकारवाला संस्थाले गरिबी तथा अभाका कारण बालबालिकालाई मुक्त बनाउन सक्ने नीति नेपालको तीन वटै सरकारले ल्याउनुपर्ने बताउनुभयो ।
एसएआईइभिएसि (SAIEVAC)का निर्देशक रिनचेन चोफेल (Rinchen Chophel)ले आफ्नो संस्थाले नेपालमा प्राविधिक परामर्शदाताको रुपमा काम गर्ने बताउनुभयो । बालबालिकाको वृद्धि, विकास र सुखी अहिलेको २१औं शताव्दीमा अपरहार्य भएको भन्दै उहाँले बालकालिकाको मात्रा र गुणस्तरमा वद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
एसओएस अन्तर्राष्ट्रिय बालग्रामका एसिया प्रतिनिधि राजनेश जैन (Rajneesh Jain)ले नेपाल सरकारले बालबालिका सम्बन्धी अघि सारेका नीति तथा कार्ययोजना उत्कृष्ट रहेको भन्दै सरकारको योजनालाई सफल बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस्तै उहाँले धार्मिक तथा सांस्कृतिक परम्परकाका कारण नेपालमा बालबालिका समस्यामा पर्ने गरेको बताउनुभयो । त्यस्तै उहाँले बालबालिकाको मार्गनिर्देशकको रुपमा परिवार भएको र परिवार नभएकालाई सम्पूर्ण बालबालिका सम्बन्धी काम गर्ने संस्थाहरुले परिवारको रुपमा नै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
एसओएसका राष्ट्रिय निर्देशक भोला पौडेलले कुनै पनि कार्यस्थल तथा बालबालिका सम्बन्धी काम गर्ने संस्थाहरुले बालबालिकाको स्थिती र चुनौतीको बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले युनिसेफको दिशानिर्देश अनुसार चल्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्ष तथा एसओएस बालग्रामका महासचिव इश्वरीप्रसाद शर्माले आफ्नो संस्थाले बालबालिकाको संरक्षणको साथमा क्षमता, दक्षता, शिक्षा, जनचेता अभिवृद्धि गर्ने प्रकारका कार्यहरुलाई प्राथमिकता दिने गरेको बताउनुभयो । कुनै पनि बालबालिका एक्लो, अशिक्षा, अज्ञानतामा हुनु नहुने भन्दै उहाँले बालबालिकाले इज्जतपूर्वक, मायाँपूर्वक बाँच्न पाउने अधिकारलाई सुरक्षित गराउनेपर्नेमा जोड दिनुभयो । अभिभावक गुमाएका बालबालिकालाई योग्य व्यक्ति बनाउने गरेको भन्दै उहाँले हाल १३५ मुलुकमा ६०० भन्दा बढी बालग्रामहरु रहेको बताउनुभयो । त्यस्तै उहाँले नेपालमा १० बालग्रामहरुमा ४५ परियोजनाका साथ २६ हजार बालबालिकालाई सहयोग गरिरहेको जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्