काठमाडौँ, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा गरिबी, असमानता तथा जलबायु परिवर्तनको चुनौतीलाई नियन्त्रण गर्न विश्वव्यापी तथा क्षेत्रीय सहयोग अपरिहार्य हुने बताउनुभएको छ ।
सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार दिनुभएको सन्देशमा सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अतिमहत्वपूर्ण भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सार्कको संस्थापक मुलुक तथा वर्तमान अध्यक्षका नाताले नेपाल परराष्ट्र नीतिको प्राथमिकताअनुरुप सार्कको बडापत्र, यसका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “दक्षिण एशिया साझा इतिहास, साझा सामाजिक संरचना तथा सांस्कृतिक सम्पदा र भौगोलिक निकटताले एकसाथ जोडिएको छ, विकासका लागि यहाँ उपलब्ध अथाह सम्भावना र अवसरले सँगसँगै अघि बढ्न र सहकार्यका निम्ति थप गति प्रदान गरेको छ ।”
सन्देशमा उहाँले दक्षिण एशियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै दक्षिण एशियाली देशको साझा मञ्च सार्कले सदस्य राष्ट्रबीच समझदारी अभिवृद्धि, विकास र समृद्धिका निम्ति मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ –यो विशेष दिनले हामीलाई शान्तिपूर्ण, समृद्ध र सुखी दक्षिण एशिया निर्माणका निम्ति दृढताका साथ साझेदारी गर्दै सघन क्षेत्रीय एकीकरणतर्फ उन्मुख हुन अभिप्रेरित गरोस् ।










प्रतिक्रिया दिनुहोस्