काठमाडौं, २५ मंसिर । नेपाल आदिवासी जनजाति महासंघले सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको छ ।
महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौती खारेज गर्न माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
कार्यक्रम अनुसार मंसिर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने रहेका छन् । त्यसैगरी महासंघले पुस १ गतेनै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाउनेछ ।
पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने नेपाल आदिवासी जनजाति महासंघले जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्