समाचार

विद्यालय भवन पूनःर्निर्माणका लागि तिमिल्सेनाद्वारा सहयोग



काठमाडौँ, २८ मङ्सिर । करिब डेढ दशकदेखि लन्डन बस्दै आउनुभएका व्यवसायी कृष्ण तिमिल्सेनाले धादिङ निलकण्ठ नगरपालिका – १४ धुंवाकोटको सरस्वती माध्यमिक विद्यालय पूनःर्निर्माणका लागि १३ लाख ६० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

केही समय अघि एक कार्यक्रमबीच उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । तिमिल्सेनाले आफूले अध्ययन गरेको विद्यालयलाई उक्त सहयोग गर्नुभएको हो । २०७२ सालको भुकम्पका कारण उक्त विद्यालयका विद्यार्थीहरु खुल्ला चौरमा पढ्न बाध्य भएका थिए ।

भूकम्पका समयमा उहाँले निलकण्ठ नगरपालिका – १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयाँ प्रदान गर्नुभएको थियो । सहयोगनै मानिसको धर्म हो भन्ने उहाँले यस बाहेक पटक पटक नेपालमा वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न मानवीय कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

तिमिल्सेना नेपलिज् सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्वसदस्य हुनुहुन्छ । हाल उहाँ एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा हुनुहुन्छ । एक दशकदेखि क्रिस फुडका प्रवन्ध निर्देशक रहेका तिमिल्सेनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगका हात फैलाउँदै आउनुभएको छ । उहाँको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी रहेको छ ।