भक्तपुर, २८ मङ्सिर । विकास र समृद्धिलाई पच्छ्याईरहेको भक्तपुरले अरनिको राजमार्गलाई पूर्ण रुपमा व्यवस्थित रुपमा परिमार्जन गर्ने क्रममा शुरु भएको अरनिको राजमार्ग सफाई तथा सर्भिस ट्र्याक खोल्ने विषयमा व्यवसायी तथा स्थानीयवासीहरुसँग भएको राय, सुझाव तथा सल्लाह लिन बसेको छलफले पूर्ण रुपमा सहयोग गर्दै अभियानलाई घनिभुत रुपमा सफल बनाउने सवैले प्रतिवद्धता व्यक्त गरेका छन् ।
सूर्यविनायक नगरपालिकाको ९ र १० वडामा पर्ने जगातीदेखि भक्तपुर र काभ्रेको संगमस्थल साँगासम्म सफाई तथा सर्भिस ट्र्याकलाई व्यवस्थित तथा संस्थागत गर्दै अघि बढ्नेमा सवैको एक मत भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा बिहिवार भएको व्यवसायी तथा स्थानीयवासीसंगको छलफलमा भक्तपुरको विकासमा कुनै अवरोध नगर्ने सवैले प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय रुपमा मार्गदर्शकको रुपमा हेरिएको उक्त सफाई अभियान, सडक विस्तार, हनुमन्ते नदी तथा मनोहरा नदीको करिडोर निर्माण, पेप्सीकोलादेखि सल्लाघारी सम्मको सडक लगायतका कार्यहरुलाई सफलतापूर्व सम्पन्न गराउँदै कोटेश्वर जडिबुटीको सवारी जाम तथा सवारी दुर्घटना न्युनिकरण गर्न महत्वपूर्ण कार्यको रुपमा लिइएको छ ।
भक्तपुरमा हुने विभिन्न प्रकारका दुव्र्यसनी, दुर्घटना, सवारी जाम, वातावरण प्रदुषण, धुवाँ, धुलो लगायतका विभिन्न समस्याहरुलाई समाधान गर्दै आधुनिक र विकसित सहरको रुपमा विकास गर्न उक्त स्थानका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु अरनिको राजमार्ग तथा हनुमन्ते नदीको सफाई अभियानसँग जोडिएर अघि बढिरहेका छन् ।
राजमार्ग सफाई अभियानको पहिलोचरण समाप्त भई हाल दोस्रो चरणको अभियान शुरु भएको छ । जसमा आज दोस्रो दिन राजमार्ग अन्तर्गतको सल्लाघारीदेखि चुनदेवीसम्म सफाई गरी सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्