नेतृत्वले फरक धारलाई सिध्याउन खोजेको गम्भीर आरोप नेकपाका नेताहरुले लगाएका छन् । जिम्मेवारी दिने बेला नेतृत्वले आफ्ना पक्षधरलाई काखी च्याप्ने चलन सच्याउनुपर्ने ती नेताले बताएका छन् । शनिबारको बैठकमा नेताहरुले प्रतिवेदनको आलोचना र बचाउ गरे ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले शनिबारको पार्टी स्थायी समिति बैठकमा असन्तुष्टि पोखे । उनीहरुले प्रधानमन्त्रीबाहेक अन्य नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने मत राखे । गण्डकी र प्रदेश ५ इन्चार्जको जिम्मेवारी त्यहाँका मुख्यमन्त्रीलाई दिइएकोमा पनि उनीहरुले विरोध गरे ।
‘अनुहार हेरेर जिम्मेवारी दिनु हुँदैन । कुनै पनि नेतालाई भगवान बनाउनु हुँदैन । प्रधानमन्त्रीबाहेकका हकमा एक व्यक्ति एक जिम्मेवारी लागू गर्नैपर्छ,’ बैठकमा नेपालको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य वेदुराम भुषालले अन्नपूर्णसँग भने, ‘मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउने हो भने सांसदलाई जिल्ला अध्यक्ष र मेयरलाई गाउँ, नगरको अध्यक्ष किन नबनाउने रु स्पष्ट र पारदर्शी ढंगले मापदण्ड बनाई त्यसलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्छ ।’
साउन ५ गते वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा नेकपा सचिवालय बैठकले सात वटै प्रदेशका पदाधिकारी (इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव) चयन गरेको थियो । गण्डकी प्रदेश र प्रदेश ५ मा त्यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र शंकर इन्चार्ज शंकर पोखरेललाई इन्चार्ज बनाइएको थियो ।
यो निर्णयमा नेपालले असहमति पत्र दर्ता गरेका थिए । तर पार्टीले पुनः निर्णय सदर गरेको थियो । ‘एकता दुई पार्टीका कमिटीको एकता हो, त्यसलाई पनि मापदण्डअनुसार पालना गरिएको देखिएन,’ नेपालले बैठकमा भने, ‘अझै पनि मेरो भनाइ प्रदेश इन्चार्जदेखि सदस्य चयनसम्ममा विधि पालना गर्नुपर्छ भन्ने हो । दोहोरो जिम्मेवारी सच्याउनुपर्छ ।’
वरिष्ठ नेता खनालले संगठनात्मक एकताको कार्यविधि सही हुन नसकेको बताए । ‘पार्टी एकता गरेर हामीले ऐतिहासिक काम गरेका छौं । तर यसको प्रक्रियामा अवलम्बन गरेका कार्यविधि ठीक भएनन् । त्यसलाई सच्चाउनु आवश्यक छ,’ खनालले भने । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।










प्रतिक्रिया दिनुहोस्