राजनीति

अपराध र भ्रष्टाचारमुक्त गर्न परिचय पत्रले थप बल प्रदान गर्छ : मुख्यमन्त्री राई



विराटनगर, ८ पौष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलकुमा अपराध तथा भ्रष्टचारमुक्त गर्न राष्ट्रिय परिचयपत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने मात्र नभई आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

प्रविधिको उच्चतम प्रयोग र डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत हुने विश्वास व्यक्त गर्दै उहाँले यो अभियानमा जुटेका निकायले समयमै आफ्ना काम पूरा गर्न निर्देशन पनि दिनुभयो ।

उहाँले राष्ट्रिय परिचयपत्रको प्रयोगबाट विभिन्न प्रकारको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृत्तिका मानिसलाई कठिनाइ हुने बताउनुभयो ।

उहाँले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनबाट सूचना प्रणालीमा सहज हुने, गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्न सकिने, सेवामा पारदर्शी हुने, सबै प्रकारका सेवामा नागरिकको पहुँच पुग्ने र राष्ट्रिय तथ्याङ्कको अध्यावधिक हुनेजस्ता फाइदा राज्यलाई पुग्ने बताउनुभयो ।