शैक्षिक

पवन प्रकृतिका विद्यार्थीे अष्ट्रिच फार्ममा



महालक्ष्मी नगरपालिका इमाडोलस्थित पवनप्रकृति सेकेण्डरी स्कूलका १० कक्षाका ८० विद्यार्थी शैक्षिक भ्रमणका लागि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका मायादेवी मन्दीरदेखि त्यहाँभित्र रहेका विभिन्न ऐतिहासिक स्थलको अवलोकन गरि फर्केका छन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल उत्तरकुमार राईको नेतृत्व तथा विद्यालय व्यवस्थापन समितिका निर्देशक विज्ञानदेव राई समेत सहभागी हुनुभएको सो टोलीमा ६ जना शिक्षक सम्मिलित हुनुहुन्थ्यो । शैक्षिक भ्रमणको संयोजन भुवन घिमीरेले गर्नुभएको थियो ।

शैक्षिक भ्रमणमा सहभागी विद्यार्थी टोलीले भैरहवामा रहेको नेपालको पहिलो अष्ट्रिच फार्मको निरीक्षण गरि त्यहाँ पालिएका अष्ट्रिच र इमु जातका चराको बारेमा पनि जानकारी लिएको थियो ।

यसैगरि शिक्षक विद्यार्थीहरुले नेपाल भारतको सिमानामा रहेको सुनौली बजार पनि घुमेको विद्यालयका शिक्षक विष्णुभक्त राईले बताउनुभयो । ‘पहिलोपल्ट विद्यार्थीहरुले नेपाल र भारतको सिमाना पनि देखें’—उहाँले भन्नुभयो ।

काठमाडौं फर्किने क्रममा विद्यार्थीहरुलाई चौधरी ग्रुपले नवलपरासीमा बनाएको नयाँ पर्यटकियस्थल तथा धार्मिकस्थल शास्वतधाम पनि भ्रमण गराइएको भ्रमण संयोजक भुवन घिमिरेले बताउनुभयो ।

विद्यालयका संस्थापक प्रिन्सिपल उत्तरकुमार राईका अनुसार आगामी चैतमा माद्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका विद्यार्थीहरुलाई पुर्नताजगी र मनोरञ्जनको लागि लुम्बिनीलगायतका ठाउँको भ्रमणमा लगिएको होे ।